दोहोरो अंकले बढेको शेयर बजारमा ५ अर्ब ५४ करोडको कारोबार

चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को बिन्दुमा कायम भएको हो ।

मंगलबार ३०८ कम्पनीको एक करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री भयो। यस क्रममा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबार बैंकिङ समूह ०.१७, लघुवित्त समूह ०.३० र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ।

चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको ७५ करोड २७ लाख ८६ हजार ९१८ रुपैयाँ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ।