प्रधानमन्त्री कप : अन्तिम खेलमा कोशीलाई अंक

कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।

काठमाडौँ– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले अंक जोड्न सफल भएको छ। 

कोशीले मंगलबार लुम्बिनी प्रदेशमाथि १६ रनको जित हात पार्दै आफ्नो अन्तिम खेलमा दुई अंक जोडेको हो। एक खेल कम खेलेको लुम्बिनीसँग समान अंक भए पनि नेटरनरे‍टले तालिकामा कोशी पुछारमा छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।

लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट भुषालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। 

बलिङतर्फ कोशीका सुजन घिमिरेले ३, अभ्यास तिम्सिना, समिर कार्की र कमल खत्रीले समान २/२ विकेट लिए।

कोशीका लागि अंकित सुवेदीले ४९, सुजन घिमिरेले ४३, मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष भट्टराईले १० रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 

लुम्बिनीले बलिङतर्फ नर सार्कीले ४ विकेट लिए भने वीर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट हात पारे।