हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको छ। पाइपमै पानी जमेपछि सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्तिसमेत बन्द भएको नाम्चेका स्थानीय नुरु शेर्पाले बताए।
सल्लेरी– चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्।
पर्यटकीय याममा व्यस्त हुने होटल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन्। स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन्। उनीहरू बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारत जाने गरेका छन्। अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले बताए।
उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन्। नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेस्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको बताए।
केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ। यामको बेला दैनिक १०० भन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५–६ वटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्यांक छ। भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिना मात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ।
चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सर्वसाधरण आगो तापेर समय बिताउने क्रम बढेको छ। चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन्। चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताए। हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ।
मंगलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको उनले बताए। उनका अनुसार उक्त तापक्रम जिल्लामा यस वर्षकै कम हो। सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन्। घरभित्र बस्दासमेत चिसोले कठ्यांग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले बताइन्।
“वृद्धवृद्धालाई झन् धेरै गाह्रो भयो। अरु उमेरका मानिसले त चिसो पचाउला तर अलिक बुढापाकालाई समस्या भयो। चिसोले राति सुत्दासमेत कठ्यांग्रिन थालेको छ। खै सल्लेरीमै यस्तो छ झन् माथिल्लो क्षेत्रमा त के होला,” उनले भनिन्। अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आएका खड्गबहादुर हिंमाङले बताए।
जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ। हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले बताए। जसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको भनाइ छ। खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ। अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो। दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताए।
“खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्काजस्तै बन्छ। मज्जाले घाम लागेको बेला त त्यो पग्लिन्छ। यसरी घाम नलाग्दा त घरभित्रको पानी दिनभर नै पग्लिँदैन,” उनले भने, “यहाँको अवस्था त तपाईंहरूले सोचेभन्दा फरक छ नि, कत्ति गाह्रो छ। त्यही भएर धेरैजसोले खुम्बु छाडे, हामी थोरैमात्रै गाउँमा छौँ।” यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको स्थानीयले बताएका छन्। चिसोले विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छ। गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन्।
विद्यालय अघिकांश बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए। “चिसोले विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गए पनि विद्यालय नै बन्द गरेका छौँ। शिक्षकलाई पनि गाह्रो छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
