भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। 

बाजुरा– पूर्वोत्तर भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्। 

स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए। 

एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरो देखिएको थियो। अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँच्छ्युँका माध्यमबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे। संक्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँच्छ्युँ गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

 स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए। भाइरल ज्वरो नियन्त्रणका लागि  स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए।