कतार, इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिबीच फ्रान्सको पेरिसमा भएको बैठकले बन्धक साटासाट सम्झौताको प्रस्ताव राखे पनि हमासले स्थायी युद्धविराम नभएसम्म कुनै सम्झौतामा हस्ताक्षर नगर्ने जनाएको छ।
गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायललाई गाजामा प्यालेस्टिनीहरूविरुद्धको नरसंहार रोक्न आदेश दियो। तर इजरायललाई उक्त आदेशले रत्तीभर छुन सकेन। त्यसपछि पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ।
प्यालेस्टिनी भूमि गाजा तथा वेस्टबैंकमा भएका आक्रमणमा सयौँ प्यालेस्टिनीको ज्यान गइसकेको छ। गाजा शहरको साब्रा र तुफाह क्षेत्रका आवासीय घरहरू ध्वस्त हुँदा ठूलो संख्यामा प्यालेस्टिनी नागरिकहरू मारिएका छन्। बुधबार मात्रै साब्रास्थित एक घरमा इजरायली जेट हमला हुँदा २० जना प्यालेस्टिनी नागरिकको मृत्यु भयो।
यस्तै, मंगलबार वेस्ट बैंकको जेनिन क्षेत्रमा अवस्थित इब्न सिना अस्पतालभित्र डाक्टरको भेषमा घुसेर इजरायली सेनाका कमान्डोले त्यहाँ उपचाररत तीन जना प्यालेस्टिनी लडाकुको हत्या गरे।
युद्ध शुरू भएदेखि इजरायली सेना अस्पतालभित्रै छिरेर यसरी हत्या गरेको पहिलोपटक देखेको त्यहाँका डाक्टरले बताएका छन्। जेनिन क्षेत्र इजरायली सेनाले कब्जा गरेको भूमि हो। आफूले कब्जा गरेको प्यालेस्टाइन क्षेत्रभरि सशस्त्र समूहहरूलाई लक्षित गर्दै आक्रमणहरू जारी राख्न इजरायली सेना दृढ छ भन्ने यो बलियो उदाहरण हो।

अहिले युद्धविरामको लागि अन्तर्राष्ट्रियस्तरमा बहस भइरहँदा सेनाका यस्ता आक्रमणले इजरायल युद्धविराम गर्ने मनसायमा नभएको देखाउँछ। हमासले बन्धक बनाएकाहरूलाई छुटाएर गाजालाई पूर्णतया सखाप पार्न इजरायलले चाल चलिरहेको टिप्पणी हुने गरेको छ।
उता, पूर्ण युद्धविरामको सम्झौता नभएसम्म बन्धक साटासाट सम्झौतामा हस्ताक्षर नगर्ने अडानमा हमास छ। त्यसैले हमासले एक हप्तासम्म फ्रान्सको पेरिसमा बसेको चार देशको बैठकले अघि सारेको बन्धक साटासाट सम्झौता प्रस्तावलाई मंगलबार अस्वीकार गरेको छ। कतार, इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिबीच भएको बैठकले बनाएको उक्त प्रस्तावमा स्थायी युद्धविराम समावेश नभएपछि हमासले बन्धक साटासाटको प्रस्ताव अस्वीकार गरेको हो।
हमासले बन्धक सम्झौता प्रस्ताव स्वीकार गर्न शर्त राखेको छ। गाजाबाट सबै इजरायली सेना फिर्ता नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने उसको अडान छ। हमासले प्यालेस्टाइनको मुक्तिको लागि लडाइँ गर्ने संगठन ‘पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन’ (पीएफएलपी)सँग संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सम्झौतामा युद्धको पूर्ण अन्त्य र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती समावेश हुनुपर्ने माग राखेको छ।
अझै करिब डेढ सय इजरायली बन्धक हमासको कब्जामा रहेको बताइएको छ। पछिल्लो प्रस्तावमा ४५ दिनको युद्धविराममा ३५ इजरायली बन्धकलाई रिहा गर्ने र त्यसको बदलामा चार हजार प्यालेस्टिनी कैदी रिहा गर्ने उल्लेख छ। जसमा आतंकवादी अपराधमा दोषी ठहरिएकाहरू पनि छन्। तर हमास भने इजरायलले यी सबै सम्झौता पालना गर्नेमा विश्वस्त छैन। इजरायलको पक्षमा उक्त सम्झौता भएको हमासको आरोप छ।
हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले रोयटर्ससँग भनेका छन्, “पेरिस बैठकको सफलता गाजा पट्टीमा व्यापक आक्रामकता अन्त्य गर्न कब्जा गर्ने इजरायल सहमतिमा निर्भर छ।”
तर उक्त प्रस्तावमाथि छलफल गर्न तयार रहेको हमासले जनाएको छ। हमासका नेता इस्माइल हनियाले मंगलबार पेरिसमा भएको वार्तापछि युद्धविरामको प्रस्ताव प्राप्त गरेको र त्यसको अध्ययन गर्ने र योजनाबारे थप छलफल गर्न आफू इजिप्टको राजधानी कायरो जाने बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने गाजापट्टीबाट आफ्नो सेना फिर्ता नलग्ने बताएका छन्। मंगलबार इजरायलको एक टेलिभिजनमा बोल्दै उनले हजारौँ प्यालेस्टिनी कैदी रिहा गर्ने विषयमा पनि असहमति प्रकट गरेका छन्।
अनेक विरोधाभासका बीच कतारका प्रधानमन्त्री भने युद्धविरामको सम्भावना नजिकिएको बताउँछन्। विभिन्न बैठकमा युद्धविरामका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहेको कतारका प्रधानमन्त्री शेख मुहम्मद बिन अब्दुल रेहमान अलथामीले पनि युद्धविरामको सम्भावना निकट रहेको बताएका छन्। “हामी केही हप्ता अघिको भन्दा राम्रो ठाउँमा पुगेका छौँ, युद्धविराम हुनेमा आशावादी छौँ” उनले भनेका छन्।
सयौँ बन्धक रिहा हुन बाँकी
प्यालेस्टिनी सशस्त्र समूह हमास र इजरायलबीच युद्ध भएको झन्डै चार महिना भइसक्यो। अक्टोबर ७ मा हमासले गरेको अप्रत्यासित आक्रमणमा इजरायलमा झन्डै १२ सय जनाको मृत्यु भयो, जसमा १० जना नेपाली पनि परेका थिए। त्यसपछि प्रतिआक्रमण थालेको इजरायल अझै युद्धमै छ। इजरायलको आक्रमणमा २६ हजारभन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ, ६५ हजारभन्दा धेरै घाइते भएका छन्। इजरायली सेनाको आक्रमणबाट गाजा तहसनहस छ। आधा गाजा खण्डहरमा परिणत भएको छ।
हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायलबाट लगभग २५३ बन्धकहरू कब्जामा लिएको थियो। जसमा नेपालका विपिन जोशी पनि रहेको बताइएको छ।
यसअघि, नोभेम्बरमा पटकपटकको बैठकपछि पहिलो चरणको एक हप्ता लामो अस्थायी युद्धविराममा हमासले १०५ जना बन्दी मुक्त गरेको थियो। जसमा २३ जना थाई एक फिलिपिनो नागरिक पनि थिए। त्यसको बदलामा इजरायलले आफ्नो तर्फबाट २४० प्यालेस्टिनीलाई रिहा गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
