प्रतिनिधिसभा सदस्य वसन्त नेम्वाङ ताप्लेजुङमा अचानक बिरामी, काठमाडौँ ल्याउने तयारी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए। 

काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएका छन्। 

एमाले जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेका नेम्वाङलाई जिल्ला अस्पताल पुर्‍याइएको छ। सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए। 

नेम्वाङलाई काठमाडौँ ल्याउन हेलिकप्टर झिकाइएको उनले बताए। “बसेको ठाउँबाट उठ्न नसकी ढलेपछि अस्पताल ल्याएका छौँ,” पोमुले भने, “काठमाडौँ लैजान हेलिकप्टर झिकाएका छौँ।” 

बुधबार हुने सचिवालय बैठकका लागि प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेम्वाङलगायत नेता ताप्लेजुङ पुगेका थिए।

एमाले जिल्ला कमिटी ताप्लेजुङका इन्चार्ज नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।