कर्णालीसँग पराजित हुँदै एपीएफ बाहिरियो, एलिट ट्रफी पनि खेल्न नपाउने

बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।

काठमाडाैँ– कर्णाली प्रदेशसँग पराजित हुँदै विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार सम्पन्न खेलमा एपीएफ २१ रनले पराजित भएको हो।

पराजित भएसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी, दोस्रोमा रहेको नेपाल पुलिस, तेस्रोमा रहेको मधेश प्रदेश र चौथोमा रहेको बागमती प्रदेशले एलिट ट्रफी खेल्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन मात्रै बनाउन सक्यो। एपीएफका ओपनर आशिफ शेखले शतक प्रहार गरे। उनले ११२ बलमा १० चौका र २ छक्कासहित १०८ रन बनाए।

अमर रौउटेलाले २८ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १४ र ओपनर लोकेश बमले ११ रन बनाए। एपीएफका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

कर्णालीका प्रकाश जैशीले सर्वाधिक ४ विकेट लिए। दिपेन्द्र रावत र युनिस सिंहले २/२ विकेट लिँदा दिवस पुन र दिनेश अधिकारीको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनायो।

कर्णालीका हिमान्शु शाही र अर्जुन घर्तीले अर्धशतक प्रहार गरे। हिमान्शुले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रन बनाए भने अर्जुन ५३ रनमा आउट भए। दिपेन्द्र रावत २७, रविन्द्र शाही २२,  दिनेश अधिकारी १९ र प्रकाश जैशीले १० रन बनाए। कर्णालीका अन्य खेलाडी भने कृजमा टिक्न सकेनन्।

एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए। अमर रौटेलाले २ विकेट लिँदा भुवन कार्की र रमेश कुर्मीको नाममा १/१ विकेट रह्यो। सिंगल राउन्ड रोबिनमा ९ खेल खेलेको एपीएफले ५ जितसहित १० अंक बनायो। एक खेल कम खेलेको सुदूरपश्चिमको ८ अंक रहेको छ।