लिभरपुलसँग चेल्सी पराजित

लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ। 

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। 

बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई ४–१ ले हराएको हो। लिभरपुलको जितमा २० वर्षीय खेलाडी कोनोर बार्डली नायक रहे।

उनले एक गोल गर्दै डिएगो जोटा र डोमिनिक सोबोस्लाइको गोलमा अवसर सिर्जना गरे। थप एक गोल लुइस डियाजले गरे। चेल्सीका क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काए।

अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–१ ले हरायो। सिटीको जितमा जुलियन अल्भारेजले दुई तथा रोड्रीले एक गोल गरे। 

जितसँगै लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ। लिभरपुलको २२ खेलबाट ५१ अंक भएको छ। दोस्रो स्थानमा उक्लिएको सिटीको २१ खेलमा ४६ अंक छ। 

चेल्सी भने ३१ अंकसहित दसौँ स्थानमा छ। यस्तै, शीर्ष चारमा उक्लने क्रममा टोटनहामले ब्रेन्टफोर्डलाई ३–२ ले हराएको छ।