संरक्षणको पर्खाइमा ढि खोलाको तातोपानी मुहान

तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि यहाँ पुगिन्छ।

म्याग्दी– मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। 

अध्ययन र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोँचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए। 

“चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो,” उनले भने, “तातोपानीलाई व्यवस्थित रूपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो।”

मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेको गुरुङको भनाइ छ। खोँचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ। बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ। हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पासाङ छिरिङ गुरुङले बताए। 

“पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ,” उनले भने, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ। गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ। साबिक सुर्खाङ गाविसमा रहेको तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन्। 

उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्न सक्ने सम्भावना छ। बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको स्थानीय बताउँछन्। मुस्ताङको पूर्व राजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्थे। उनीहरूले मुहान नजिकै स्नानका लागि आउनेका लागि आश्रयस्थल बनाइदिएका थिए। 

स्थानीय हिउँद याममा ढि खोलाको तातोपानी नुहाउन जान्छन्। व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन नसकिएको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए। ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल भइरहेको उनको भनाइ छ।