रोहिंग्या शरणार्थी बोकेको डुंगा इन्डोनेसियामा अवतरण

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एशियाली मुलुकमा जोखिमपूर्ण यात्राको प्रयास गरेका थिए।   

तस्वीर: एएफपी

रोहिंग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको छ। 

अधिकांश मुस्लिम रोहिंग्याले म्यान्मारमा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ। प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुंगामा ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ। 

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुंगा अवतरण भएको पुष्टि गरे। शरणार्थीको यकिन संख्या पुष्टि हुन बाँकी रहे पनि १३७ जना शरणार्थी आएको उनको अनुमान छ। 

नोभेम्बरको मध्यदेखि जनवरी अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन्। अति रुढिवादी इन्डोनेसियाली क्षेत्रमा अल्पसंख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुंगालाई समुद्रमा फिर्ता पठाइएको छ।

रोहिंग्याले दुर्लभ स्रोतको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीयसँग झगडासमेत गर्ने उनीहरूको दाबी छ। डिसेम्बरमा आचेह विश्वविद्यालयका विद्यार्थीले १०० भन्दा बढी रोहिंग्या शरणार्थीको अस्थायी आश्रयस्थलमा आक्रमण गरी स्थानान्तरण गर्न बाध्य पारेका थिए। 

इन्डोनेसिया संयुक्त राष्ट्रसंघीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन। एएफपीका अनुसार उसले आफूलाई म्यानमारबाट शरणार्थी लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ। राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एशियाली मुलुकमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ। 

खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिंग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ।