राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त

बैठकले उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ। 

काठमाडौँ– राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसाद नियुक्त भएका छन्। 

बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै, बैठकले उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ। 

बैठकले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त तथा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा. साहरा श्रेष्ठलाई मनोनयन गरेको छ। 

बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको मन्त्री शर्माले जानकारी दिइन्।