प्रधानमन्त्री कप: आर्मी फाइनलमा, अपराजित रहेको पुलिससँग भिड्ने

आर्मीले गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

काठमाडौँ– त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा तय गरेका हुन्। यद्यपि, सात खेलसम्म अपराजित रहँदै पुलिस दुई खेलअगावै फाइनलमा पुगेको थियो। बिहीबार पुलिसले पनि सुदूरपश्चिम प्रदेशमाथि ७८ रनको जितसँगै अपराजित रहँदै लिगको यात्रा टुंग्यायो।

आर्मीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमै समेटियो। आर्मीको बलिङसामु गण्डकी पनि चल्नै सकेनन्। 

ओपनर ईश्वर क्षेत्रीले १६ रन र करण पंगेनीले १५ रनबाहेक अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका बलर शाहब आलमले ४ विकेट लिए। उनले ७ ओभरमा २ मेडन राख्दा १७ रन मात्र खर्चिए। 

जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीको पनि प्रदर्शन सुखद रहेन र ३९.१ ओभरमा १३२ रनमै अलआउट भयो।

आर्मीका ओपनर इमरान शेखको ३४ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। तल्लो क्रमका सोमपाल कामीले २३ रन, कप्तान विनोद भण्डारीले १९ रन, कुशल मल्लले १५ रन जोड्दा साहब १२ रनमा नटआउट रहे। 

गण्डकीको बलिङमा विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २/२ विकेट लिए। सन्दीप पराजुली र रोशन गौतमको नाममा समान १/१ विकेट रह्यो ।

मूलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १९८ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३७.१ ओभरमा १२० रनमै अलआउट भयो।

सुदूरपश्चिमका गजेन्द्र बोहराले ३० रनको योगदान दिँदा किरण ठगुन्नाले २४ रन बनाए। नरेन साउद २४ रनमा नटआउट रहे। त्यसबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 

पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशायी बनाए। उनले १० ओभरमा चार मेडन राख्दै २० रन मात्र दिए। ललितनारायण राजवंशी, ललित भण्डारी र सागर ढकालको नाममा समान १/१ विकेट रह्यो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रनमै अलआउट भयो। दीपेन्द्रसिंह ऐरीले ४४ रन र शंकर रानाले ४६ रनको योगदान लिए। अर्जुन साउदले ३२ रन र आरिफ शेखले २६ रन जोडे। अन्य ब्याटर चल्न नसक्दा पुलिस पनि सस्तैमा समेटियो। 

सुदूरपश्चिमका बलर शेर मल्लले ३ विकेट लिँदा मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान २/२ विकेट निकाले। दीपक चन्दको नाममा एक विकेट रह्यो। यससँगे जारी प्रतियोगितामा लिग चरणका खेल समाप्त भएका छन्।