राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद्‍मा दर्ता

विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ।

काठमाडौँ– सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गराएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साबिककै व्यवस्था कायम राख्ने उल्लेख छ। 

नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थाबमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थामा संशोधन गरेको थियो।

तर २०७८ असोज ११ गते सो अध्यादेश राष्ट्रपतिबाट खारेज भएकाले अध्यादेशले परिवर्तन गरेका कानूनी व्यवस्थालाई हटाएर ऐनको साबिककै व्यवस्था कायम राख्न संशोधन विधेयक ल्याइएको हो।

विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ।

ऐनमा ‘संघीय सांसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ भन्ने व्यवस्था थियो।

त्यसलाई संशोधन गरी ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्य’ राखेर तत्कालीन सरकारले अध्यादेश ल्याएको थियो। 

संघीय सांसदका प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएको बताए। सो विधेयकमा ऐनमा भएकै साबिकको व्यवस्था गर्न भनिएको उनले जानकारी दिए। सरकारले आगामी सोमबारका लागि संसद्को अधिवेशन आह्वान गरेको छ।