मध्यपहाडी लोकमार्गको रुकुमखण्ड हिमपातका कारण अवरुद्ध

हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्।

रुकुम पूर्व– हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। 

बुधबार राति र बिहीबार दिउँसो परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्।  

मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्न क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ। “बिहीबार दिनभर हिमपात भएपछि सडक खुलाउन सकिएन। अहिले सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको छ,” रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले भने। 

सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्। अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ।  

हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ। भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ। 

हिउँ परेपछि पुथा उत्तरगंगा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ। यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ।