आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई आईसीसीको कारबाही

आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।

काठमाडौँ– नेपाली यू१९ राष्ट्रिय टोलीका ब्याट्सम्यान अर्जुन कुमाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कारबाही गरेको छ। 

आईसीसी यू१९ विश्वकपअन्तर्गत जनवरी ३१ मा बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई कारबाही गरिएको हो।

इनिङ्सको छैठौँ ओभरमा अर्जुनले दौडेर रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले प्रहार गर्न पुगेका थिए। उनलाई आईसीसी आचारसंहिताको धारा २.१२ को उल्लंघन गरेको भन्दै कारबाही गरिएको छ। उक्त धारामा खेलाडी, खेलाडीका सहयोगी, अम्पायर, म्याच रेफ्री या अन्य कुनै व्यक्तिसँग अनुपयुक्त तरिकाले शरीरमा सम्पर्क राख्न नपाइने उल्लेख छ।

अर्जुनले उक्त गल्ती स्वीकार गरेको आईसीसीले जनाएको छ। यद्यपि, उनको अनुशासनात्मक रेकर्डमा ३ डिमेरिट अंक थपिएको छ। यो २४ महिना लागू हुनेछ। 

आईसीसीका अनुसार कुनै खेलाडीको २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पाउँछन् भने त्यसलाई निलम्बन अंकमा परिणत गरिन्छ। र, खेलाडीलाई प्रतिबन्ध लगाइन्छ।