‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’
अमेरिकाको नर्थ कारोलिना स्टेट युनिभर्सिटीबाट फाइन आर्ट्समा स्नाकोत्तर गरेकी लेखक स्मृति रवीन्द्र शिक्षण पेसामा छिन्। उनको पहिलो उपन्यास ‘द वुमन हु क्लाइम्बड द ट्री’ गत महिना प्रकाशन भएको छ। नेपालमा जन्मिएकी र हाल भारतको मुम्बई बसोबास गर्ने रवीन्द्रले मधेशी समुदायमा विद्यमान महिलाको अवस्थालाई उपन्यासमा उतारेकी छन्। सरल र सूक्ष्म बयान उनको लेखनको विशेषता हो। लेखक रवीन्द्रसँग उनको पुस्तकको विषयबस्तुबारे उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीः
एक महिलाले रूख चढेकै कारण गाउँलेबाट उनको हत्या भएको कथा उपन्यासको ‘प्रोलग’मा छ। ‘एपिलग’मा रूखमाथि नै महिलाहरूले सुन्दर र आदर्शवादी समाज (युटोपिया) निर्माण गर्छन्। तपाईंले उपन्यासमा महिला सशक्तीकरणलाई विषय बनाउनुभएको हो?
पुस्तकको प्रोलग मैले धेरैअघि लेखेको थिएँ। मैथिल समुदाय कथा, किंवदन्ती र लोकगीतले भरिपूर्ण छ। कथाका पात्र महिला हुन्छन्। यद्यपि ती कथा र किंवदन्तीमा महिलाले अलिकति पनि ‘सामाजिक विचलन’ हुने काम गरे कडा सजाय भोग्नुपर्ने सुन्दै हुर्किएँ। कथामा ती महिलाको हत्या गर्ने, किच्कन्डी वा चुडैल हुने जस्ता कुरा सुनाइन्थ्यो। यस्ता कथन बच्चाहरूलाई सुनाउने कथामा धेरै पाइन्छ। सोही कारण पुस्तकको प्रोलगमा मैले पितृसत्तात्मक समाज कति प्रतिबन्धात्मक छ भनेर प्रस्तुत गरेकी हुँ।
विदुर पुरुषसँग विवाहपछि ती महिला बच्चा नजन्माई सौताका छोराछोरीलाई प्रेमका साथ हुर्काएर बसेकी हुन्छिन्। तर उनले जे जति राम्रो गरे पनि उनी पुरुषप्रधान समाजको धब्बा बन्न पुग्छिन् र मारिन्छिन्। पुस्तकको एपिलग चाहिँ प्रोलगको ‘काउन्टर रेस्पोन्स’ हो। प्रोलगमा जस्तै एपिलग पनि लोककथामा आधारित छ। एक नाउ महिला भूतको शहरमा दुलही सिँगार्न जान्छिन्। ज्याला स्वरूप पैसा र सुन दिइन्छ। यद्यपि उक्त पैसा भूतलोकमा मात्र चल्छ।

भूतको पैसा भूतको दुनियाँमा मात्र चल्छ भनेझैँ एपिलगमा महिलाको दुनियाँ बनाएको छु जहाँ महिलाको पैसा महिला कै दुनियाँमा चल्छ। यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो। त्यसैले प्रोलग पितृसत्ताको प्रतिबन्धात्मक स्वरूप हो भने एपिलग महिलाको आदर्शवादी समाज हो।
पितृसत्ताविरुद्ध लेखिने प्रायः साहित्य जटिल हुन्छ। तपाईंको पुस्तकमा भने त्यही भान्सा, चुल्हो, सासूबुहारी, निदर्यी श्रीमान् लगायत विषय छन्। यद्यपि लेखनी सूक्ष्म र चोटिलो छ। यस्तो उपन्यास लेख्ने सोच कसरी आयो?
म एक शिक्षक हुँ। हाम्रो काम भनेको सञ्चार गराउनु हो, द्धिविधा गराउनु होइन। यद्यपि, म सूक्ष्म तरिकाले लेख्छु भनेर लेखेको होइन। सरल र सहज भाषा जतिको सशक्त मलाई केही लाग्दैन। म जहिल्यै पनि सरल भाषा लेख्न रुचाउँछु। मेरा लेखहरूमा इमानदारिता र सरलता होस् भन्ने लाग्छ। यसबाहेक, ‘भान्सा, सासूआमा, समाजमा महिलाको स्थान’ साधारण र सन्दर्भहीन भइसकेको भनाइ पनि छन्। प्रवासी, कर्पोरेटलगायतका गहन विषय आजभोलिको लेखनीमा पर्छन्। यद्यपि मैले जीवनबारे सोच्दा र लेख्दा साधारण पक्षबारे सोच्छु। मलाई जे महत्त्वपूर्ण लाग्छ, जे बुझाइ छ, त्यही लेख्छु।
उपन्यासमा मिना र प्रितीमार्फत मधेशका महिलाप्रति काठमाडौँमा हुने विभेदलाई प्रस्तुत गर्नुभएको छ। यसमा तपाईं आफ्नै अनुभवका बाछिटा पनि परेका छन्?
म सानै हुँदा पढ्नका लागि भारत गएँ। त्यही भएर मैले काठमाडौँलाई ‘फेस’ गर्नु परेन। मलाई प्रस्ट नेपाली बोल्न, लेख्न आउँथ्यो। घरमा मैथिली नै बोले पनि मेरो नेपाली राम्रै थियो। मेरा मिल्ने साथीदेखि पद्मकन्या क्याम्पसबाट स्नाकोत्तर गर्दासम्म मेरा प्रोफेसरहरू सहयोगी हुनुुहुन्थ्यो। आजको जति म छु, त्यसको आधा अंश काठमाडौँकै कारण हो। यद्यपि यो भन्दैमा विभेद नै नभएको होइन। भाषिक रूपमा भएको विभेद गौण थियो। तर मधेशी भएको कारण काम नपाउने, साथी नहुने खालका समस्या भोगिन।
तर मेरा भाउजू, आमा, आफन्त जो तराई र बिहारबाट काठमाडौँ आउनुभयो उहाँहरूलार्ई मैथिली मात्र बोल्न आउँथ्यो। काठमाडौँका संवादमा चासो र उत्सुकता हुँदाहुँदै पनि सक्नु हुन्थेन। अनुहार रङ, बोली, लवज, पहिरनको आधारमा काम नपाउने र होच्याइने परिस्थिति देखेको छु। यसमा काठमाडौँको मात्र दोष छैन। मैथिली अथवा मधेशमा हाबी पुरुषवादले महिलाहरू घरपरिवारभित्रै सीमित हुन्छन्। यो निकै प्रतिबन्धात्मक जीवन हो।
फिल्मदेखि साहित्यमा ‘ब्रोम्यान्स’ हाल निकै चलेको अभ्यास हो। त्यस्तै, एक महिलाको एक अर्कोप्रतिको माया सद्भाव, रोमाञ्चकतालाई ‘वुमन्स’को रूपमा प्रस्तुत गर्ने चेस्टा गर्नु भएको छ। यसबारे कस्तो प्रतिक्रिया आइरहेको छ?
पुस्तकको यो पाटोमा पुरुषहरूबाट जोडदार प्रतिक्रिया आइरहेको छ। अर्को जमातले यसलाई ‘महिला समलिंगी’ प्रेमसँग तुलना गर्ने, आरोप लगाउने गरे। ‘समलिंगी’ र ‘वुमन्स’ उस्तै देखिए वा लागे पनि व्यावहारिक र भावनात्मक पाटोमा दुई फरक विषय हुन्। पुरुषको ‘ब्रोम्यान्स’लाई कसैले पनि ‘गे रिलेसन’ भनेको देखिँदैन। उदाहरणको लागि ‘सोले’ फिल्ममा ‘जय–विरु’ को सम्बन्धलाई ब्रोम्यान्स भन्न सकिन्छ। ब्रोम्यान्सको पाटो दशकयताका फिल्ममा अझ धेरै देखिन्छ। हाम्रो फिल्म, साहित्यले जसरी पुरुषको साथी सम्बन्ध, ब्रोम्यान्सको कुरा गर्दा महिला सम्बन्धको बारेमा त्यसरी सोच्नै चाहँदैनन्। फिल्म, साहित्यमा पनि दुई मिल्ने महिलाको सम्बन्धमा टेन्सन र प्रतिस्पर्धाबारे मात्र चित्रण भएका छन्।

म गल्स होस्टलमा पढेँ, महिला र महिलाको सम्बन्धलाई नजिकबाट नियाल्न पाएँ। मेरो जीवनका केही सुन्दर सम्बन्ध जहाँ मलाई सुरक्षा, रमाइलो महसुस हुने भनेकै मेरा महिला साथीसँग हो। उनीहरूसँग बस्दा मलाई मेरो ब्राको स्ट्राइप वा अन्य कुनै भित्री वस्त्र देखियो होला भनी पीर, चिन्तासमेत हुन्न तर पुरुषबीच यस्तो अनुभूति हुँदैन।
हरेक प्रेमिल सम्बन्धको केन्द्रमा ‘रोमान्स’ हुन्छ। रोमान्सलाई शारीरिक आर्कषण र मिलनमा सीमित गर्नु उपयुक्त हुन्न। एउटा आमाले आफ्नो सन्तानको लागि हुने आशक्ति, गर्ने माया, ममता, त्यो पनि एक प्रकारको रोमान्स हो। हरेक व्यक्ति वयस्क हुन्छ, हरेकलाई रोमान्स मनपर्छ। रोमान्स भन्ने अवधारणालाई यति भयंकर बनाइँदा महिला, पुरुषले सुरक्षित रूपमा रोमान्सलाई कहाँ एक्सप्लोर गर्ने? यदि तपाईं महिला हुनुहुन्छ र रोमान्स कुनै पुरुषसँग खोज्नु हुन्छ भने तपाईं ‘स्लट’ भनेर कहलिनु हुन्छ। साहित्यमा महिला–महिलाबीच यस खालको विषय आयो भने पुरुषहरू कराउन थालिहाल्छन्।
हरेक दिन मनमोहन कामका लागि घरबाट निस्किएपछि मिनाले एक प्रकारको स्वतन्त्रता, खुल्लापन महसुस गर्छिन्। उनी आफ्नो मनमौजी रूपमा बस्ने, खाने, हाँस्ने, फिल्म हेर्न जाने स्वतन्त्रता महसुस गर्छिन्, किन?
पात्रको हिसाबमा मनमोहन प्रिय, मायालाग्दो अथवा राम्रो पात्र होइन। उसले मिनालाई पिट्ने गर्छ। एक समय मिनाको लागि उनीहरूबीचको शारीरिक सम्बन्ध बलात्कारभन्दा कम नभएको महसुस गर्छिन्, जहाँ माया, प्रेम, रोमाञ्चकता छैन। माया छैन भने हरेक सम्बन्ध भ्रम हुन्। त्यसैले मिना श्रीमान्लाई घृणा गर्छिन्। मनमोहनको अनुपस्थिति मिनाको लागि बेग्लै स्वतन्त्रताको अनुभूति हो।
उपन्यासकी प्रमुख पात्र मिना आफ्नो श्रीमान् मनमोहनको घर त्याग्ने निर्णय गरेर निस्किन्छिन्, तर परिस्थिति र सन्तानको मायाले फेरि फर्किन्छिन्। महिलाको स्वतन्त्रताको विषय यो हो त?
क्रान्तिबारे लेख्न सजिलो छ तर वास्तविक जीवनमा १०० जना महिलामध्ये कतिले क्रान्तिको जीवन बाँचेका छन्। कुनै अपवादमा उभिने महिलाबारे लेख्ने मनसाय थिएन। एक आमजिन्दगी बिताउने महिलाबारे लेख्नु थियो। विवाह तोड्न महिलालाई अझै पनि सहज छैन। जब म मिनाको बारेमा लेख्दै थिएँ मैले सजिलै उनलाई क्रान्तिकारी बनाउन सक्थेँ। तर यस्ता कुरा विरलै कुनै महिलाले गर्न सक्छन्। मेरो पुस्तकका कोही पनि पात्र अपवाद छैनन्। उनीहरू सबै सामान्य जीवन बिताइरहेका छन्। पुस्तकको सेटिङ सन् १९८०–९० को दशकको भएको कारण त्यति बेला यी सबै क्रान्तिका कुरा सहज थिएनन्।
गर्भमा रहेको बच्चा लगातार खेर जाँदा मिनालाई मानसिक समस्या हुन्छ। यद्यपि कुनैबेला उनी आफ्नो गर्भमा रहेको बच्चालाई घृणा गरिरहेको हुन्थिन्। पाठकले मिनालाई कसरी बुझ्ने?
बच्चा नहुनु भनेको समाजमा वर्जित मानिन्छ। यदि ‘सामाजिक अवधारणा’लाई पूँजी मान्ने हो भने महिलालाई बच्चा उत्पादनले मात्र पूर्ण गराउँछ भन्ने भाष्य स्थापित छ। यसमा जैविक रूपमा कतिपय महिलामा सन्तान जन्माउने चाहना होला भने कतिपयमा नहुन पनि सक्छ। श्रीमान्ले दिन नसकेको माया, स्याहार, बस्न नसकेको प्रेमबीच सन्तान नचाहँदै रहेकोे गर्भलाई तिरस्कृत गर्दै गर्दा कालान्तरमा उनका कतिपय गर्भ खेर जान्छन्। मिनालाई यसको शुरूआती समयमा कुनै चेतना थिएन।
प्रीति र आदि सन्तानको रूपमा आएपछि बिस्तारै श्रीमान्बाट पाउन नसकेको माया उनले सन्तानमा खोज्छिन्। सोही कारण बेलाबेला पहिले खेर गएका गर्भ जसलाई तिरस्कृत गर्ने गरेकी थिइन्, त्यसको ग्लानीले उनलाई पिरोल्छ। मिनाले एक पटकथामा भनेकी छन्, ‘मेरो शरीर एउटा चिहान हो।’ यद्यपि उनले मायालु श्रीमान् पाएको भए खेर गएको गर्भको पीडाले मानसिक रोगीसम्म पुर्याउँदैन थियो होला।

उपन्यासमा मिना भारतको दरभंगाबाट जनकपुर हुँदै काठमाडौँ आउँछिन्। उनको यात्रा मनमोहनको भन्दा कसरी फरक छ?
मलाई हरेक महिला प्रवासी लाग्छ। प्रवासी हुन देश वा शहर छोड्नु पर्छ भन्ने कुरै आउँदैन। बिहे गरेर श्रीमान्को घर जानु बसाइँसराइ हो। किनकि आफ्नो परिवार, सहजता, कलासंस्कृति सबै छाडेर अर्को परिवारमा जान्छौँ जुन परिवारको प्राथमिक सदस्य हामी थिएनौँ। सोही कारण मलाई हरेक महिला अल्पसंख्यक र प्रवासी लाग्छ। मिना आफ्नो जन्मथलो भारतको दरभंगा हुँदै श्रीमान्को घर जनकपुरबाट काठमाडौँसम्म आइपुग्नु प्रवासीको कथासारको लागि हो। मिनाको माइती दरभंगा नभई काठमाडौँमा भएको भए पनि उनी घर त्यागेर माइतीमा केही दिनको लागि बस्न सक्लिन् तर पक्कै फर्किने थिइन्। हरेक महिलाको हुकाई नै पराइको घर पठाउने प्रवासीको रूपमा हुन्छ।
उपन्यासमा लोककथा, मिथकहरूको यथेष्ठ प्रयोग भएको छ। यसले तपाईंलाई कथनशैलीमा कतिको न्याय दिएको छ?
यसको विश्लेषण शायद पाठक वर्गले गर्नुभयो भने अझ राम्रो विमर्श होला। मैले मेरो परिवेशमा रहेका कला, गीत, संस्कृतिलाई उपन्यासका उपकथामा बुनेकी हुँ। उदाहरणका लागि मधेशी संस्कृतिमा लोककथा र लोकगीतको ठूलो स्थान छ। ‘मधुवनी’ कलाको पनि आफ्नै स्थान छ। सानाठूला उत्सवमा गायकी हुन्छ, घरको भित्ता सिँगारिन्छन्। मेरो विवाह नुहँदासम्म मलाई मामाघर, दादीको घरका भित्तामा कोरिनु कला हो भन्ने हेक्कासमेत थिएन। यहाँको बास्केट, घैलामा पनि विभिन्न आकृति र बुट्टा हुन्थे। किनभने त्यो मैले दैनिकीको रूपमा देखेको थिएँ।
जब मेरो बिहे एक तमिलियानसँग भयो, उहाँहरूको संस्कृतिमा त्यस्तो कुनै चालचलन रहेनछ। बिहेपछि आफ्नो घरमा बस्दा मलाई घरका भित्तामा चित्र बनाउन मन लाग्थ्यो, बुट्टा भर्न मन लाग्थ्यो। त्यस बेला म यति अचम्मित भएको थिएँ कि ती कला, गीत मेरो जीवनमा कतिसम्म महत्त्वपूर्ण अंश रहेछ! मेरो बिहेमा केही गीत बजाइएन, निकै खल्लो लाग्यो। पुस्तकमा मैले आफ्नो स्थानमा सुनेका लोककथा, गीत, संगीतलाई विशेष स्थान दिएको छु। जनकपुर, काठमाडौँ हुँदै दरभंगासम्म लेखेको छु। त्यहाँका यी अभिन्न अंश छुटाउनै मिल्दैन।
महिलाको अधिकारको कुरा गर्दा के हामी पाश्चात्यात समाजको अवधारणाबाट बढी प्रभावित भएका छैनौँ? महिला अधिकारमा पूर्वीय दर्शन के हो?
यसमा म दुई उदाहरण दिन्छु। पहिलो, मेरो परिवारको दुई नन्दमध्ये एक जनाले विवाह गर्नुभयो, अर्कोले गर्नु भएन। तमिनियनमा यी दुवैलाई सामान्य लिइन्छ। तर मेरो माइतीबाट मेरो बुबा आउनु हुँदा उहाँलाई अविवाहित नन्दको चिन्ता हुन्छ। उहाँको विवाहको लागि हामीलाई अनेकन सल्लाह दिनुहुन्छ।
दोस्रो, जब म सानो थिएँ, काठमाडौँ बस्दा एक जना आदिवासी महिलाले हाम्रै घरमा डेरा लिनु भएको थियो। उहाँको लगाइ, खुवाइ र स्वतन्त्र हिँड्ने शैली देख्दा पूरै टोलले कुरा काट्थे। म उहाँजस्तै ‘फ्रि’ हुन चाहन्थेँ, तर मानिसहरूले उहाँको कुरा काटे जसरी मेरो कुरा काटुन् भन्ने चाहँदैन थिएँ। आदिवासी समाजबाट हामीले लिन सकिने धेरै विषय छन्। महिलावादको लागि पाश्चात्य समाजकै अवधारणाबाट प्रभावित हुनु पर्छ भन्ने छैन, तर आदिवासी समुदायमा रहेका महिला स्वतन्त्रता समेटिने गरी बहस कति भएको छ? यो अर्को प्रश्न हो।
समस्या कहाँ छ भने पाश्चात्यात समाजका अवधारणा यति प्रख्यात र हाबी भइसक्यो, हाम्रा आफ्नै सुन्दर कला, संस्कृतिहरू ‘अनहाइलाइट’ भएका छन्। त्यही भएर आदिवासी समाजको स्वतन्त्रताको निकै कम जनचेतना भएको होला। यसका लागि फिल्म, गीत, साहित्यमार्फत ‘सेलिब्रेसन’ हुनु पर्छ।
तर पाश्चात्य समाजमा पनि पितृसत्तामा महिलावादको स्थान छैन। संसारमा पितृसत्ता जतिको सफल, बलियो र शक्तिशाली सत्ता कुनै भएन। पुस्तकको अन्त्यमा मैले पितृसत्ताको प्रतिक्रियामा वैकल्पिक संसार बनाउन पनि निकै गाह्रो भएको देखाएको छु। महिलाको उक्त युटोपिया रुखमाथि बनाएको छु, कारण पितृसत्ताको अंश कहाँ कहाँ छैन होला र?
महिलाको संसारको पक्ष राखिरहनु हुन्दा, अन्त्यमा ‘गिभ मि अ किङडम अफ वुमन....’ भन्ने गीतमा प्रयोग शब्द भएको ‘किङडम’ले फेरि पुरुषत्व देखिएन र?
यो कमजोरीलाई मैले मान्नै पर्छ। भाषिक पक्षमा शायद मैले त्यो सोच्न भ्याइनँ। पुस्तक प्रकाशनअघि कसैले यसरी नै भन्दिएको भए विकल्प हुने थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
