अनलाइन सट्टेबाजी गराएको आरोपमा ३ भारतीय नागरिक दरबारमार्गबाट पक्राउ

प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौँ– प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

“क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूका साथबाट एक करोड एक लाख २६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको छ,” उनले भने। उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

ठगीको आरोपमा पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै नगद तीन लाख ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइ प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रोमानिया पठाइदिन्छु भन्दै नगद एक लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० रुपैयाँ हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो। 

उनलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

जापान पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक एक लाख ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २४ दिन कैद सजाय, ७५ लाख रुपैयाँ जरिबाना र ७५ लाख रुपैयाँ बिगो भराई क्षतिपूर्तिबापत पीडित राहत कोषमा तीन लाख रुपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वरबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको छ। 

लागुऔषधसहित पक्राउ
काठमाडौँ महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद ८५ हजार रुपैयाँ र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

यसैगरी काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय नीरबहादुर गुरुङलाई अवैध लागुऔषध खैरो हेरोइन ६ ग्राम ४५० मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। 

यसैगरी काठमाडौँ महानगरपालिका–१५ चमतीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब दुई ग्राम ६९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट ८६१ ट्याब्लेट र नगद आठ हजार रुपैयाँसहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २९ वर्षीय सरोज खड्कासमेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।