सीआईबीले चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरेपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताएको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला तथा जुत्ता कारखानाको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेका आधारमा उनलाई पक्राउ गरिएको बताएको छ। शुक्रबार सीआईबीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानपछि चौधरीलगायत बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर चौधरीका नाममा आएको प्रमाण रहेको बताए। उनका अनुसार च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो।
बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरणका क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रस्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकालिएको, लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा चौधरीले खरिद गरेको देखिएको उनले बताए।
“जुत्ता कारखाना बन्द भएपछि २०४९ असार २३ मा निजीकरण गर्ने निर्णय गर्यो। बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरणका क्रममा एउटा प्रस्ताव जान्छ। जसमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर छ। सरकारी शेयर मात्रै किन्छु भनेर च्याम्पियन फुटवेयरका लागि गएको देखिन्छ। २५ प्रतिशत शेयर महालेखा नियन्त्रणको कार्यालयमा गयो। महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने र लिलामीलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले खरिद गरेको देखिन्छ,” उनले भने।
उनले चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरेपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताए। उनले त्यसपछि च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरिएको बताए। “च्याम्पियन फुटवेयर प्रालिको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ,” उनले भने।
बाँसबारी छाला तथा जुत्ता कारखानाले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला तथा जुत्ता कारखानाको २५ प्रतिशत र सर्वसाधारणको २४ प्रतिशत रहने शेयर भनिएको भए पनि त्यस्तो नभएको उनको भनाइ छ। सर्वसाधारणका लागि जारी गर्ने भनिएको शेयर पनि जारी नभएको उनले बताए।
उनले बाँसबारी छाला तथा जुत्ता कारखानाले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्यांकनका आधारमा बाँसबारी छाला तथा जुत्ता कारखानाले कुल २६ लाख लगानी गरेको देखिएको बताए।
“कम्पनी स्थापना हुँदा कम्पनीको पुँजी ५० लाख रुपैयाँको थियो। कम्पनीको पुँजी एक करोड बनाउँदा थप ४ रोपनी जग्गा दिएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई दिएको देखिन्छ। यसमा लगानीको हिसाबले हेर्दा २४ प्रतिशत शेयर सर्वसाधारणका लागि भनिए पनि कतै पब्लिक भएको देखिएको छैन,” उनले भने।
उनले २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रुपैयाँ मात्र पर्ने भए पनि बाँसबारीले २६ लाख रुपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताए। उनले कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा आठ लाख रुपैयाँ मात्र लगानी भएको पाएको बताए।
“कम्पनीले २६ लाख लगानी गरेको र बाँकी ७४ लाख रुपैयाँ अन्य पार्टीहरूबाट लगानी हुनुपर्ने थियो। त्यसमध्ये जम्मा आठ लाख रुपैयाँ मात्रै लगानी भएको देखिन्छ,” उनले भने, “जुत्ता कारखाना स्थापना गरेर आफ्नो शेयरअनुसार लगानी र सर्वसाधारणलाई शेयर निष्कासन नगरी बाँसबारी छाला तथा जुत्ताको १० रोपनी जग्गा र बाँकी आठ रोपनी जग्गा पनि लिने उद्देश्य देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
