इजरायलको गाजा नीतिको विरोधमा उत्रिए पश्चिमी देशका सयौं कूटनीतिज्ञ

उनीहरूले आफ्नो देशको सरकारले विशेषज्ञ सल्लाहको बेवास्ता गरेको बताएका छन्।

अमेरिका र युरोपमा कार्यरत सयौँ कूटनीतिक अधिकारीहरूले इजरायलको गाजा नीतिको बारेमा संयुक्त वक्तव्यमा आ–आफ्नो देशका सरकारलाई चेतावनी दिएका छन्।

उनीहरूले इजरायलको गाजा नीतिले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन हुन सक्ने बताएका छन्। यो संयुक्त विज्ञप्तिमा अमेरिका र युरोपका ८०० भन्दा बढी सेवारत अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

"यस शताब्दीको सबैभन्दा खराब मानवीय प्रकोपमा संलग्न हुने जोखिम सरकारले उठाएको छ र उनीहरूको विशेषज्ञ सल्लाहलाई बेवास्ता गरिएको छ," विज्ञप्तिमा भनिएको छ।

यी पश्चिमका केही प्रमुख सहयोगीहरूका सरकारहरूबीच इजरायलप्रति व्यापक असन्तुष्टिको पछिल्लो संकेतहरू हुन्। यस बयानमा हस्ताक्षर गर्ने व्यक्तिहरूमध्ये एक अमेरिकी सरकारमा कार्यरत छन्। उनीसँग राष्ट्रिय सुरक्षाको क्षेत्रमा काम गरेको २५ वर्षभन्दा बढीको अनुभव छ। उनले आफ्नो सल्लाहलाई अमेरिकी सरकारले वास्ता नगरेको बीबीसीसँग भनेका छन्।

यो ट्रान्सएट्लान्टिक विज्ञप्तिमा अमेरिका, युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनीलगायत युरोपका ११ देशका कर्मचारीहरूले हस्ताक्षर गरेका छन्।

उक्त संयुक्त विज्ञप्तिमा इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीमा कुनै मर्यादा पालन नगरेका कारण त्यहाँ हजारौँ सर्वसाधारणको ज्यान गएको बताएका छन्।