संसद् अधिवेशन जारी रहँदासम्म सांसदहरूलाई काठमाडौँ नछोड्न र बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलले आगामी संसद् अधिवेशनभर केन्द्रीय राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद् अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो।
विगतमा संसद्को बैठक तथा समिति बैठकहरूमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनका अनुसार कांग्रेसका सांसद निरन्तर रूपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको हो। संसद्को अधिवेशन चल्दासम्म कांग्रेसका सांसदलाई काठमाडौँ नछोड्न निर्देशन दिइएको उनले बताए।
“संसद्को अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यले राजधानी नछोड्ने, यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नुपर्यो भने पनि संसदीय दलको प्रमुख सचेतक या सचेतकबाट लिखित रूपले स्वीकृति लिएर मात्रै राजधानी छाड्न निर्देशन गरेको छ यो बैठकले सबै माननीयहरूलाई,” उनले भने, “र संसद्, समितिको बैठकमा अनिवार्य उपस्थित हुने, बैठक चल्दासम्म बस्ने र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिहरूमा भाग लिने भनेर पनि यो बैठकले निर्देश गरेको छ,”
बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरूको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रहसमेत गरेको छ। संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको पनि उनले बताए। कांग्रेसले संसद्का गतिविधिलाई व्यवस्थित गर्न र संसद्लाई प्रभावकारी बनाउन अरू राजनीतिक दलहरूलाई अपिल पनि गरेको छ।
बैठकले संसदीय दलको विधान अनुरूप दलको समितिमा संयोजक तोकेको छ। जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिए।
बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने र केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न अनुरोध गरेको पनि उनले बताए। “अब हामी नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छौँ र चाँडै निर्वाचन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिलाई निर्वाचन समिति तोकी दिनका लागि हामीले आज अनुरोध गरेका छौँ,” उनले भने, “आउँदो बैठकबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्वाचन समिति तोक्छ। त्यसपछि संसदीय दलको कार्यसमितिको निर्वाचन सम्पन्न हुन्छ।”
कांग्रेस संसदीय दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भीरतापूर्वक लिएको उनले बताए। गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १९ जना साझा उम्मेदवार थिए। कोशी प्रदेशमा दुई जना उम्मेदवार भए पनि एक जना पराजित भएका थिए। “यो विषयलाई हामीले अनपेक्षित परिणामको रूपमा लियौँ र यो बैठकले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ भनेर बैठकले निर्णय गरेको छ,” उनले भने।
बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
