आहा रारा गोल्डकप उपाधिमा आर्मी र थ्रीस्टारको आ–आफ्नै दाबी

आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधिमा लागि आ–आफ्नै दाबी प्रस्तुत गरेका छन्।

खेलअघि शुक्रबार आयोजना भएको ‘प्रि–म्याच कन्फ्रेरेन्स’मा दुवै टोलीले उपाधिमाथि आ–आफ्नै दाबी प्रस्तुत गरेका हुन्। फाइनल खेल शनिबार शनिबार दिउँसो १ बजेबाट पोखरा रंगशालामा शुरू हुँदै छ।

आर्मीका प्रशिक्षक मेघराज केसीले यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताए। आर्मी सन्तुलित टोली भएको कारण इतिहास बनाउनेमा उनी आशावादी देखिए। 

“आर्मी सन्तुलित टोली लिएर पोखरा आएको छ। हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ। हामी इतिहास दोहोर्‍याउन चाहँदैनौँ। पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसाथ मैदान उत्रिने छौँ,” प्रशिक्षक केसीले।

यसपटक प्राय: सबै टोलीले युवा खेलाडीलाई मौका दिइरहेका छन्। उनीहरूले राम्रो प्रदर्शन गरिरहेको केसी बताउँछन्। आर्मीले पनि नयाँ खेलाडीका साथ पोखरा उत्रिएको उनले जानकारी दिए। प्रशिक्षकका रूपमा दुई पटक उपाधि जितिसकेका कारण आफ्नो लक्ष्य भनेको तेस्रो पटक च्याम्पियन बन्ने रहेको उनले सुनाए।

जारी प्रतियोगितामा आर्मीले राइजिङ स्टार एफसीलाई १–०, साबिक विजेता संकटालाई ३–० र चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। आर्मीका लागि दिनेश हेन्जनले सर्वाधिक ३ गोल गरे।

यसैगरी, आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको सुनाए। “सबै टोली उपाधि जित्ने लक्ष्य हुन्छ। यसअघि पटक पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भएका थियौँ। विगतमा केही मिहिनेत नपुगेको जस्तो लाग्छ। तर यसपटक फाइनलमा आफ्नो तर्फबाट सकेको दिने प्रयास हुनेछ,” उनले भने।

आयोजक सहारा क्लबलाई २–१, भुटानको पारो एफसीलाई २–० र जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।

उसका लागि स्टार फरवार्ड आशिष चापागाईंले सर्वाधिक दुई गोल गरेका छन्। उनले चर्च ब्वाइज युनाइटेडबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। आशिषजस्तै अन्य क्लबका खेलाडी बटुलेर थ्रीस्टारले टोली बनाएकोले त्यसको फाइदा लिने भरत बताउँछन्।

“टोलीमा तालमेल मिलिरहेको छ। हामी फेरि उपविजेतामै सीमित हुन चाहँदैनौँ। अरू क्लबले खेलाडी बटुलेर टोली तयार पारेका छन्। तर हामीसँग सेट टोली छ। त्यसको फाइदा उठाउँदै जसरी पनि उपाधि जित्ने छौँ,” उनले भने।

थ्रीस्टारका डेब्यू प्रशिक्षक विक्रम लामाले आफ्नो गुरुविरुद्ध फाइनल खेल्न पाउनु सुनौलो अवसर रहेको सुनाए। ‘ए’ डिभिजन लिगमा उनी थ्रीस्टारको कप्तान रहँदा केसी ‘टचलाइन’मा उभिएका थिए। केसीले सिकाएको कुरालाई नै फाइनल खेलमा लागू गर्ने लामाको भनाइ छ।

“हिजो उहाँको निर्देशनमा मैदानभित्र खेल्ने गर्थें। अहिले मैदान बाहिर खेल्ने अवसर मिलेको छ। म उहाँले सिकाएका कुरालाई फाइनल खेलमा लागू गर्ने प्रयास गर्नेछु। यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रूपमा रहेको छ,” उनले भने।

थ्रीस्टारको टोलीमा युवा खेलाडी रहेको कारण एक अर्का सँगसँगै खेलेको अनुभव नभएकाले पहिलो खेलमा केही गाह्रो भएको उनले बताए। तर अहिले टोलीको तालमेल मिलिरहेको उनले सुनाए। तर केही कमीकमजोरीहरू रहेको र त्यसलाई सुधार गर्दै फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास रहने उनले बताए।

थ्रीस्टारले हालसम्म ६ पटक फाइनलमा पुगेको छ। जसमा पाँच पटक च्याम्पियन बनेको छ। त्यसैगरी, आर्मीले यसअघिका चार वटै फाइनलमा पराजय बेहोरेको छ।

आर्मी नियमित प्रशिक्षण गरिरहेको राम्रो टोली रहेको थ्रीस्टारका कप्तान विराट महर्जनले बताए। तर, थ्रीस्टार पनि कमजोर टोली नरहेको उनी बताउँछन्। त्यसैले फाइनल खेल रोमाञ्चक हुनेमा उनी आशावादी छन्।

“टोलीमा सबै खेलाडी सकारात्मक सोच राख्ने खेलाडी छन्। सबैमा केही गर्नुपर्छ भन्ने जोस छ। आर्मी राम्रो टोली हो। उनीहरूले नियमित प्रशिक्षण गरिहरेका छन्। तर हामी पनि कमजोर छैनौँ। फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ। हामी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छौँ,” उनले भने।