रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काइदिन माग

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका छन्। 

काठमाडौँ– रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन्। 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन्।

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन आग्रह गरिन्। उदयपुरका स्थायी बासिन्दा उनी नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस गएको टिनाले बताइन्। 

केही आफन्त बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गरिन्।

उनले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र हाल सम्पर्कमा नरहेको सुनाइन्। त्यस्तै भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर नीराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गरिन्। 

रुसी सेना छाडेर नेपाल आएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराए।