अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर वडाका अध्यक्ष गोपाल खनालले जानकारी दिए। मृत्यु हुनेमा भूमिकास्थान–२ मुलटंकीका ३२ वर्षीय देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका ४० वर्षीया डेमकला बेल्वासे छन्। 

दुर्घटनामा स्थानीय कोपिला खनाल र उनका छोरा सर्मिक घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको उपचारका लागि सन्धिखर्क पठाइएको छ। 

ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जिप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ।