गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको छ। जंगलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्‍याउन खच्चड प्रयोग हुन थालेका छन्। 

ढोरपाटन– दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन्। पैदल नै हिँड्नुपर्ने बाध्यता थियो। सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन्। 

स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन्। भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन। सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ। सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन्।

ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ। ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए। जंगलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्‍याउन खच्चड प्रयोग हुन थालेको उनको भनाइ छ। गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक ४० हजार बढी कमाउने गरेका थिए। 

“हाम्रोपालामा मोटर गाडी चल्दैनथे। बाटो पनि गतिलो थिएन। अहिले जहाँ पनि गाडी चल्छन्। भएका घोडा कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुपर्‍यो भनेर मल र घाँस बोकाउने गरेको छु,” उनले भने, “गाउँमा मेरो मात्रै होइन अरू धेरैका घोडा खच्चड छन्। पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्त्व छैन।”

टोल–टोलमा सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए। अहिले पाँच खच्चड पाल्दै आएका छन्। बाउबाजेको पालादेखि नै घरमा खच्चड पाल्दै आएको हुँदा निरन्तरता दिएको जनाउँदै उनले अहिले घाँस र दाना पुर्‍याउन गाह्रो हुने गरेको बताए। 

“घाँस खुवाएर पाल्नै गाह्रो छ। उत्पादन केही छैन। त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु। टाढा जानुपर्‍यो भने त्यसैमा चढेर जान्छु,” उनले भने, “हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउँथे। अहिले हामीलाई घोडा पाल्न गाह्रो छ।”