सरकारले खेलको विकासमा आवश्यक बजेट छुटाउन सकेन: शेखर कोइराला

उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको आरोप लगाएका छन्। 

शनिबार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बताएका हुन्।

“खेलकुदको विकासमा जसरी सरकारले बजेट छुटाउनुपर्ने हो त्यसरी बजेट छुटाउन सकिरहेको देखिँदैन,” उनले भने, “प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको छैन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ। कुनै पनि देशको विकास गर्नु छ भने खेलकुदको विकास गर्नुपर्छ।” 

खेलाडीलाई पुरस्कार स्वरूप घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो। उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरूले पहल गर्नेसमेत उल्लेख गरे।

“खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरू इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ। त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीले अत्यन्त महत्त्वपूर्ण विधाका रूपमा लिएर अघि जान सक्यौँ भने मात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ,” उनले भने।