अरू क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेता टोलीलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

उनीले अरू क्षेत्रको बजेट कम गरेर भए पनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य रूपमा बजेट बढाउने भनाइ राखे। “अरू क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ। त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ” उनले भने।

अर्थमन्त्री महतले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियम बनाइरहेको बताए। उनले क्रिकेट अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउने महत्त्वपूर्ण विधा भएको बताए। सरकार मन्दीबाट बिस्तारै उठिरहेको उनको भनाइ थियो। 

शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधि विजेता पुलिसले ट्रफीसँगै १० लाख र उपविजेता बनेको आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन्।