पश्चिमी वायुको प्रभाव बढ्दै, आइतबार वर्षाको सम्भावना

आइतबारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

“आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ,” उनले भने। 

यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा शनिबार हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, काठमाडौँको शनिबार बिहानको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस रहेको तथा शनिबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीचमा रहने मौसमविद् अधिकारीले बताए। 

शनिबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।