सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, १ जना घाइते

मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सबिन कोइरालाले जानकारी दिए।

सुक्खा पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ। तस्वीर : भविन कार्की/रासस

संखुवासभा– संखुवासभाको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको हो।

मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सबिन कोइरालाले जानकारी दिए।

शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय एक्स्काभेटर सहचालक सबिन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेको भनाइ छ। 

पहिरोमा वरुण निर्माण सेवा कम्पनीको एउटा एक्स्काभेटरसमेत पुरिएको छ। उक्त क्षेत्रमा वरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहरेको छ। 

अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए। सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्तीनजिकै अलपत्र परेका छन्।