थ्रिस्टारलाई पराजित गर्दै आर्मी बन्यो आहा रारा गोल्डकप च्याम्पियन

पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन बन्न सफल भएको छ।

तस्वीर : राधिका कँडेल/रासस

कास्की– विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखरा रंगशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो।

यसअघि चार पटक फाइनल पुग्दासमेत उपाधि जित्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा सफलता पाएको हो। यससँगै आहा रारा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ। 

खेलमा आर्मीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल थप्दै सहज रूपमा थ्रिस्टारलाई पराजित गरेको हो। पहिलो हाफको ३९औँ मिनेटमा आर्मीका कप्तान जिलेप्सीजँग कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। मध्याह्नअघिको खेलमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि सफल भएन।

खेलको ८३औँ मिनेटमा आर्मीले फत्तेमान घलेको गोलबाट अग्रता दोब्बर बनायो। इन्जुरी समयको चौथो मिनेटमा वसन्त जिम्वाले गोल गर्दै आर्मीलाई जित दिलाए।

च्याम्पियन बनेको आर्मीले नगद १२ लाख एक हजार रुपैयाँसहित ट्रफी पुरस्कार पायो भने उपविजेता टोली थ्रिस्टारले नगद ६ लाख एक हजार रुपैयाँसहित ट्रफी पुरस्कार पायो।

आर्मीका विमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान विद्युतीय स्कुटर पाए। प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर थ्रिस्टार क्लबका विवेक पौडेल, उत्कृष्ट फरवार्ड आर्मीका जिलेप्सीजँग कार्की तथा उत्कृष्ट प्रशिक्षक आर्मीका मेघराज केसी घोषित हुँदै उनीहरूले जनही २५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए। 

प्रतियोगितामा सर्वाधिक तीन गोल गरेका आर्मीका दिनेश हेन्जनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। जावलाखेल युवा क्लब प्रतियोगिताको ‘फेयर प्ले’ टोली घोषित भयो।