उज्वेकिस्तानलाई हराउदै कतार एशियन कपको सेमिफाइनलमा

गोलरक्षक मेसल बरसम नायक बनेपछि साबिक विजेता कतारले उज्वेकिस्तानलाई पेनाल्टी सुटाउटमा ३–२ ले पराजित गर्दै एशियन कपको सेमिफाइनलमा पुगेको छ। 

तस्वीर: रोयटर्स

काठमाडौँ– साबिक विजेता कतार एशियन कप फुटबलको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ। 

शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा कतारका गोलरक्षक मेसल बरसमले ३ वटा बचाउ गरेका थिए। 

त्यसअघि निर्धारित समयको २७औँ मिनेटमा उत्किर युसुपोभको आत्मघाती गोलमा कतारले अग्रता लिएको थियो। उज्वेकिस्तानका लागि ५९औँ मिनेटमा ओदिलजोन खाम्रोबेकोभले बराबरी गोल गरे। 

कतारले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ।