‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’

क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

काठमाडौँ– विश्व क्यान्सर दिवस आइतबार विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। 

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ।

क्यान्सर रोग शरीरको कोश या कोशिकाको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ। यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सरका कारण भएको छ। क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

विश्वमा सबैभन्दा धेरै क्यान्सर फोक्सोको देखिएको छ। त्यसपछि स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा हुने क्यान्सर बढी हुने गरेका छन्। नेपालमा यसका बिरामीको यकिन तथ्यांक छैन। 

नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको डब्ल्यूएचओले जनाएको छ। यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोको क्यान्सर बढी हुने गरेको छ।