दिक्तेल रुपाकोट मझुवागढी– १५ विजयखर्कका धर्मराज पोखरेलले १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर १५ वटा कृषि फार्म सञ्चालन गरिरहेका छन्।
खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी– १५ विजयखर्कका धर्मराज पोखरेलले २०७८ सालमा विजय अर्ग्यानिक भिजेल कम्पनी खोलेका थिए। हाल विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाईभैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती लगाएका छन्।
विजयर्खस्थित आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन्। राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारी लगाएका छन्। जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ। भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन्। वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ। विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन्। जहाँ करिब २०० हाराहारी बङ्गुर र बँदेल छन्। त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ। एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन्। आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ।
बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन्। जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन्। सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ। बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ। सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन्। सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ। बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ। हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ।
यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन्। राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब ४०० हाराहारी बाख्रापालन गरिएको छ। पाँचवटा गाईपालन गरिएको छ। गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ। फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती छ। हरेक ठाउँका फार्ममा एक–एक परिवारलाई पारिश्रमिकसहित शेयर सदस्यका रूपमा राखिएको पोखरेलले सुनाए। यसरी राखेका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन्।
फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि बुइपाको पञ्चदोबाटोमा होटल र मासु बेच्ने ठाउँ सञ्चालन गरेका छन्। फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको छ। प्रतिकिलो एक हजार २०० रुपैयाँका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनले सुनाए।
कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानी मात्र भइरहेको पोखरेलले बताए। “कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन्। अहिलेसम्म १५ करोडभन्दा बढी लगानी गरिसकेको छु,” उनले भने, “जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफ मात्रै दिन्छन्।”
आफूले गरेको देखेर धेरैजना स्थानीयले व्यावसायिक कृषिमा लागेको उनले बताए। फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौँ निर्यात हुने गरेको जनाइएको छ। काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
