स्थानीयले रकम संकलन गरेर निर्माण गरेको सडक १५ वर्षपछि स्तरोन्नति

मध्यपहाडी लोकमार्गको रंगेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने सडकको ट्रयाक २०६५ सालमा खुलेको हो। लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ।

ढोरपाटन– गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ।

गलकोट नगरपालिका–२ को नरेठाँटीबाट ६ नम्बर वडाको मजुवा जोड्ने सडकको २०६५ सालमा ट्रयाक खुलेको थियो। मध्यपहाडी लोकमार्गको रंगेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तरोन्नति हुन सकेको थिएन। गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तरोन्नति तीव्र गतिमा हुन थालेको हो।

नलकोट नगरपालिकाका प्रमुख भरत शर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएको ३५ लाख रुपैयाँमा सडक खुलाइएको थियो। लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा समस्या हुने गरेको थियो। स्तरोन्नतिका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको छ। गत वर्ष निर्माण कम्पनीले काम नगर्दा ३० लाख मात्रै खर्च भएको थियो।

अहिले भने धमाधम काम भइरहेको उनले बताए। सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायत गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुन्छ। नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ।

“अहिलेसम्म सडकको दुरावस्था थियो। अब सुधार हुँदै जाने छ। डेढ दशकपछि सडक राम्रो बन्न थालेपछि स्थानीय पनि खुशी भएका छन्,” नगरप्रमुख शर्माले भने, “गाउँलेले लगानी गरेको लाखौँ रुपैयाँले बनेको यो सडकमा सरकारले पनि बर्सेनि बजेट विनियोजन गरेर काम गर्दै आएको छ। केही समयपछि कालोपत्र पनि हुने छ।”

नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताए। सडक थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मंसिरमा जिम्मा लिएको छ। ४६ लाखको ठेक्का असार मसान्तसम्म सक्ने सम्झौता छ। तर, निर्माण कम्पनीले यही महिनाभित्र सक्नेगरी काम गरिरहेको इन्जिनियर दाहालको भनाइ छ।