श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

सांकेतिक तस्वीर।

घोराही– दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए। 

नेपालगन्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको डीएसपी मल्लले बताए। नेपालीको घर रुन्टिगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो। मल्लका अनुसार नेपाली लामो समय नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। 

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।