सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० को बिन्दुमा कायम भएको हो।

विभिन्न ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर ७० हजार ७९० पटक खरिदबिक्री हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक ०.६६, वित्त समूह ०.४०, लगानी समूह ०.०९ र निर्जीवन बीमा समूहको उपसूचक ०.५१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक १.०४ र जीवन बीमा समूहको उपसूचक ०.५४ प्रतिशतले घटेको छ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ५८ लाख ३२ हजार ८०९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २५ हजार ५८ कित्ता शेयर किनबेच भएको छ।