कार्यान्वयन सुनिश्चिततासहित संसद्‍बाट विधेयक पारित गर्नुपर्छ : सभामुख

उनले प्रि–बजेट छलफलका लागि कानूनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए। उनले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्बाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।

सोमबारबाट शुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनको अघिल्लो दिन आइतबार संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्ने बताएका हुन्। 


पारित गरिएका विधेयकहरू कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो। “कार्यान्वयन गर्ने गरी विधेयकहरू धेरैभन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ। संसद्को त्यही सौन्दर्यसाथ जाने हो। भौतिक संरचनाको सौन्दर्यभन्दा पनि आवश्यकता के हो? त्यो पूरा गर्नु नै सबैभन्दा ठूलो सौन्दर्य हो। त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्ने गरी भोलिबाट अधिवेशन चलाउनुपर्छ,” उनले भने। 

उनले संसद् क्यालेन्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए। “यसपालि क्यालेन्डरका आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ,” उनले भने। 


उनले प्रि–बजेट छलफलका लागि कानूनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए। उनले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे। “सरकारले बिजनेसको कमी हुँदैन भनेको छ। १८ वटा मन्त्रालयबाट छ भनेको छ। दुई वटा संसद् सचिवालयमा दर्ता भएको छ,” उनले भने।

संघीय संसद् बैठक सोमबारदेखि शुरू हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे बस्ने गरी संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आह्वान गरेका थिए।


संसद् बैठक व्यवस्थित रूपमा चलाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै कार्य व्यवस्था महाशाखा रहेका छन्। बैठक सञ्चालनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन तयारी अवस्थामा राखिएको छ।

संघीय संसद्को तयारी, भवन र बैठक कक्षको अवस्थाबारे संघीय संसद्का सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानासहितको टोलीले आइतबार निरीक्षण गरेको थियो।