क्यानले गर्‍यो क्यानडा र लिग–२ खेल्ने नेपाली टोलीको घोषणा

क्यानले क्यानडा र लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने छुट्टाछुट्टै दुई टोलीको घोषणा गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले फेब्रुअरी पहिलो साता र दोस्रो साता आयोजना हुने छुट्टाछुट्टै दुई क्रिकेट श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले आइतबार घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन एक दिवसीय शृंखला र आईसीसी विश्वकप लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक शृंखलाका लागि टोली घोषणा गरेको हो। दुवै खेलका लागि क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय अलगअलग टोली घोषणा गरेको हो।

क्यानडासँग खेल्ने नेपाली टोलीमा रोहितसहित आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन्।

त्यस्तै, लिग–२ खेल्ने नेपाली टोलीमा रोहितसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकालको नाम समेटिएको छ। प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ।

नेपालले क्यानडासँगको शृंखला फेब्रुअरी ८ देखि १२ सम्म खेल्ने छ। लिग–२ मा नेपालले फेब्रुअरी १५ देखि २४ सम्म खेल्नेछ।


Caption