आर्थिक संकटबाट उकासिँदै श्रीलंका

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण आर्थिक संकटमा परेको श्रीलंका बिस्तारै उकासिँदै गएको छ।

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण आर्थिक संकटमा परेको श्रीलंका बिस्तारै उकासिँदै गएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को जमानत नियमनसम्बन्धी मितव्ययितापछि ‘बिस्तारै’ अति खराब आर्थिक संकटबाट बाहिर आइरहेको श्रीलंकाका राष्ट्रपतिले आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा बताए।

परम्परागतरूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा राष्ट्रपति रनिल विक्रमासिंघेले ‘आर्थिक रूपमा ध्वस्त राष्ट्रको प्रतीक बनाइएको’ अपमानको स्मरण गर्दै खराब आर्थिक संकटबाट श्रीलंका बाहिर आइरहेको बताएका हुन्।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलंका विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो। आर्थिक संकटको चरमोत्कर्षमा श्रीलंकामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो।

आईएमएफले गत वर्ष मार्चमा श्रीलंकालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो।  राष्ट्रपति विक्रमासिंघेले भने, “यो यात्राको दौडान, चुनौतीहरू क्रमशः हट्नेछन्, जीवनका बोझहरू हल्का हुनेछन्, अर्थव्यवस्था मजबुत हुनेछ।”

उनले भने, “विगतका गल्तीबाट अन्तरदृष्टि प्राप्त गर्नु र त्यसको पुनरावृत्ति हुनबाट जोगिनु अत्यावश्यक छ।” 

सेन्ट्रल बैंक अफ श्रीलंकाको तथ्यांकअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा छ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो।

बैंकका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो। यद्यपि, सन् २०२२ मा श्रीलंकाको वित्तीय संकटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो। अहिलेको मुद्रास्फीति त्यतिबेलाको स्तरको दशौँ हिस्साभन्दा पनि कम हो।