वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

लामाविरुद्ध आङपासाङ शेर्पासमेत ८४५ जनाले तीन करोड ९३ लाख १४ हजार ३३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए।

तस्वीर : वैदेशिक रोजगार न्यायाधिकरण

काठमाडौँ– वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरू निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 

लामाविरुद्ध आङपासाङ शेर्पासमेत ८४५ जनाले तीन करोड ९३ लाख १४ हजार ३३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए।

“प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ”, जारी आदेशमा भनिएको छ। 

लामाले न्यायाधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरूले रकम बुझाएको देखिने बैंक भौचरसमेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ।

वैदेशिक रोजगार कसुरमा २०७९ पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापा समेतले लामाले लिथुनिया, कोरिया, न्युजिल्यान्ड, क्यानडासमेतका देशमा रोजगारीका लागि पढाउने भनी रकम लिई ठगी गरेको भन्दै उजुरी परेको थियो।

लामालाई गत पुस १६ गते काठमाडौँको शंखमूलबाट पक्राउ गरिएको थियो। प्रहरीले लामाको तालिम सेन्टरबाट पीडितहरू ९३४ थान राहदानी बरामद गरेको थियो। लामाले बिगो बमोजिमको रकम फिर्ता गर्न आफू तयार रहेको बयान दिएका छन्।