प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ।

काठमाडौँ– प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरेका हुन्।

उनले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त होस् भन्ने उद्देश्यले अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस गर्नुपरेको बताए

उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्वछलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन्।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाऊ आदेश पेस गरे। प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।