बेलायतका राजा चार्ल्स क्यान्सरबाट पीडित, उपचार हुँदै

बेलायती राजपरिवारका प्रवक्ताले क्यान्सरबाट पीडित राजा चार्ल्सको अहिले उपचार भइरहेकोबारे प्रष्ट पारेका छन्

बेलायतका राजा चार्ल्स तृतीय क्यान्सरबाट पीडित भएका छन्। बेलायती राजपरिवारका प्रवक्ताले क्यान्सरबाट पीडित राजा चार्ल्सको अहिले उपचार भइरहेकोबारे प्रष्ट पारेका बीबीसीले जनाएको छ।

उनलाई प्रोस्टेट ग्रन्थी समस्याको अनुसन्धानको क्रममा क्यान्सर पत्ता लागेको थियो, यद्यपि उनको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित भने थिएन। क्यान्सर कस्तो प्रकारको र शरीरको कुन भागमा छ भन्ने स्पष्ट जानकारी नआए पनि उनको क्यान्सरको उपचार सोमबारदेखि शुरू भएको बताइएको छ।

अहिलेका लागि उनी केही समय राज्यका कार्यक्रमबाट टाढा रहनेछन् र उनको स्थानमा शाही परिवारका अन्य वरिष्ठ सदस्यले ती जिम्मेवारी पूरा गर्नेछन्। तर कागजातहरूमा हस्ताक्षर गर्ने र दरबारभित्र साना निजी बैठकहरूमा भने उनी सहभागी हुनेछन्।

उनको क्यान्सर कुन स्टेजको हो र निको हुन कति समय लाग्ने भन्नेबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। ७५ वर्षीय उनको अस्पतालमा भर्ना नभएरै 'आउट डोर बिरामी' को रूपमा उपचार भइरहेको छ।