नागढुंगा–सिस्नेखोला सुरुङ छिचोल्न ३२ मिटर मात्रै बाँकी, फागुन २३ गते ‘ब्रेक थ्रु’ हुने

सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्ने लगायतका समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। 

काठमाडौँ– सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गर्ने तयारी गरिएको जनाएको छ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारेको छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन्। 

उनले आगामी मार्च ६ अर्थात् फागुन २३ गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको समितिलाई जानकारी गराएका हुन्। मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको उनको भनाइ थियो। 

उनका अनुसार अहिलेसम्म २ हजार ६३६ मिटर सुरुङ खन्ने काम सकिएको छ। समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल निर्माण गरिएको छ। एउटा फ्लाइओभर निर्माणको क्रममा छ। सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौँतर्फ केही मुआब्जा लगायतका केही समस्या अझै बाँकी छन्।

“विभिन्न कम्पनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङमार्ग लगायतमा खर्च भएको छ। घरटहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ। मुख्य सुरुङमार्गको ब्रेक थ्रु मार्च ६ मा राख्ने तयारी रहेको छ। हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ,” उनले भने।

सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्ने लगायतका समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। 

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले समितिलाई आयोजनाले झूटो बोलेको आरोप लगाए। उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको तर्क गरे। २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने उनको भनाइ थियो।

“समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने होला। स्रोत सुनिश्चितता भएन भन्ने होला। ठेक्का लिएपछि समयमा निर्माण सम्पन्न नगर्ने लागत र महँगी बढेको मात्रै खेख्ने हुँदा हामी कहाँ पुग्छौँ। सरकारले कुनै पनि आयोजना शुरू गर्दा शुरू जसले गर्छ त्यसलाई अन्तिमसम्म आयोजना जिम्मा दिनुपर्छ। जसले समयमा आयोजना पूरा गर्छ उसलाई सम्मान र काम नगर्नेलाई कारबाही गर्नुपर्छ,” उनले भने।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी अगाडि बढ्नुपर्ने बताए। यद्यपि निर्माण कार्य रोक्न नहुने उनको भनाइ थियो। उनले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्न आवश्यक रहेको बताए।

“सुरुङ निर्माण गर्ने क्रममा प्रभावित क्षेत्रका जनतालाई मर्का परेको छ भने क्षतिपूर्ति दिनुपर्छ। पानीको मुहान सुकेको भए मुहान कसरी पलाउन सक्छ भन्ने विषयमा अध्ययन गराउने विषय सरकारले सोच्नुपर्छ। सुरुङ निर्माण गर्ने भनेर जनताले प्रयोग गर्ने पानीको महान् सुकाउन पाइँदैन” उनले भने।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ)को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ। २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको २.६ किमी लम्बाइ रहेको छ। —न्युज एजेन्सी नेपाल