सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नराखौँ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्न आवश्यक नभएको बताएकी हुन्।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय नसमेट्न आग्रह गरेकी छन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्न आवश्यक नभएको बताएकी हुन्।

विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नगरिएको उल्लेख गर्दै उनले भनिन्, “व्यवस्था नभएको कुरालाई किन उप्काउने भन्ने हो। कर्मचारी युनियन बन्नुपर्छ भन्ने कुरा कतैकतै आएको भए गम्भीरतापूर्वक सोच्नुपर्थ्यो। अघि माननीयज्यूहरूले भनेजस्तै हामीले दुरुपयोग गरेर समस्या भएको हो। सदुपयोग गरेको भए केही समस्या हुँदैन थियो। कर्मचारीको विषयमा कहीँ त्यस्तो लेखेको रहेछ भने कर्मचारीसम्बन्धी दफालाई हेरौँला। भएन भने काम, कर्तव्य, अधिकारमा त्यो उल्लेख नगरौँ भन्ने आग्रह गर्न चाहन्छु।”

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विद्या भट्टराईले ट्रेड युनियन अधिकार संविधानले प्रदान गरेको अधिकार भएको बताइन्। उनले ट्रेड युनियन अधिकार नहुँदा कर्मचारीले आफ्नो पीडा र समस्या राख्ने ठाउँ नहुने भन्दै कर्मचारीको अधिकारलाई हनन गर्नु नहुने धारणा राखिन्।

“ट्रेड युनियनको अधिकार भन्ने कुरा संविधानले पनि प्रदत्त गरेको अधिकार हो। तर हामीले ट्रेड युनियन अधिकारको परिभाषा आज राजनीतिक हिसाबले दिन नसकेको कारण समस्या भइरहेको छ,” उनले भनिन्, “हामीले ट्रेड युनियन अधिकारलाई हनन गर्न पाउँदैनौँ भन्ने लाग्छ। कर्मचारी नागरिक पनि हो। उसको अधिकार हनन नगरौँ।”

एमालेका अर्का सांसद महेश बर्तौलाले सुरक्षण मुद्रणमा काम गर्न कर्मचारीको छुट्टै संयन्त्र बनाउनुपर्ने धारणा राखे। सुरक्षण मुद्रणको विषय राष्ट्रको गौरवसँग जोडिने भन्दै उनले यसमा गोपनीयता र विश्वसनीयता कायम गर्न कर्मचारीको छुट्टै संयन्त्रको व्यवस्था गर्न आवश्यक भएको बताए।

कर्मचारीको विशेष संयन्त्र बनाउँदा बदमासी र मनपरी हुनसक्ने भन्दै कानून बनाउँदा त्यतातिर पनि विचार पुर्‍याउनुपर्ने उनको भनाइ थियो।