कैदीबन्दीबाट उठाएको पैसा कति प्रतिशत कसको भागमा जान्छ भन्ने कुरा ‘पब्लिक’लाई जानकारी हुँदैन। तर खान्छन् भन्ने सबैलाई थाहा छ। यसको हिसाबकिताब कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्म पुग्छ।
द्वन्द्वकालीन मुद्दामा केन्द्रीय कारागार अन्तर्गतको भद्र बन्दी गृहमा आठ वर्षभन्दा धेरै बिताएका पूर्वमाओवादी नेता पुष्कर गौतमसँग जेलभित्रका नाइके–चौकीदारहरूले गरिरहेको असुली र शोषणबारे उकालोकर्मी लोकेन्द्र विश्वकर्माले गरेको कुराकानीः
भद्र बन्दीगृहमा झन्डै दशक कसरी बिताउनुभयो?
मैले बुझेसम्म २००७ सालतिरको भद्र बन्दीगृहमा २०१७, २०४६ हुँदै २०६३/६४ पछि स्वाभाविक रूपमै परिवर्तन आयो। पहिला सुरक्षित घर, पानी र सञ्चारको सुविधा थिएन। मान्छेलाई साङ्लोमा बाँधेर राखिन्थ्यो। अहिले त्यस्तो छैन। तर आन्तरिक प्रशासनमा नाइके र चौकीदारको मनोमानी चरम् छ।
सामान्यतया त्यहाँभित्रको आन्तरिक प्रशासन, कारागार प्रशासन र प्रहरी प्रशासनले हामीलाई आदर नै गर्थ्यो। तापनि त्यहाँ हुने निकृष्ट कुराहरू बुझ्दिनँ भन्दा पनि बुझ्न कर लाग्दो रहेछ। जेल सुधारका लागि यसबीचमा धेरै आयोगहरू बने। न्यायालयबाट सुधारका फैसलाहरू पनि भए। कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयले पनि सुधारका प्रयत्न गर्न खोजेजस्तो देखिन्छ। तर त्यो धेरै न्यून छ।
कैदीबन्दीलाई पहिलादेखि नै चामल ७०० ग्राम दिने चलन हो। पैसा एक सुका, एक मोहर हुँदै बढेर ८० रूपैयाँ पुगेको छ। भद्र बन्दीगृह ३०० जना बन्दी अटाउने क्षमताको भए पनि अहिले त्यहाँ ११ सयभन्दा धेरै मान्छेहरू छन्। २५/३० जति त बिरामी नै हुन्छन्, ती पनि अशक्त। तिनलाई खुवाउने–पियाउने, दिसापिसाब गराइदिने इत्यादि काम अर्कैले गराइदिनुपर्छ। लुगा पनि अरूले नै लगाइदिनुपर्छ। यस्ता कुरालाई त्यहाँका आन्तरिक प्रशासनका भाइहरूले व्यवस्थापन गरेर राखेका हुन्छन्।
भित्रको सोचाइ बुझाइ कस्तो हुन्थ्यो?
जेलमा मान्छेले सबैभन्दा बढी सोच्ने आफ्नै बारेमा हो। अहिले राजनीतिक बन्दी भनेर राख्न पाइँदैन। बाहिरका मान्छेहरू पनि त्यसरी सोच्दैनन्। त्यहाँ मान्छेहरू म किन यस्तो भएँ होला भनेर चिन्तन गर्छन्। अहिले राजनीतिक बन्दीहरू कम हुन्छन्। छलफल गर्ने नगण्य हुन्छन्। शुरूमा छलफल गर्ने वातावरण हुँदैन। छिर्नेबित्तिकै धेरै मान्छेहरूसँग बोल्न दिइँदैन।
नयाँ मान्छेलाई नियन्त्रणमा राख्ने, सबै गतिविधिहरू निगरानी गर्ने अभ्यास छ। पछि चिनिँदै गइसकेपछि गफगाफ गर्ने, भेट्ने गर्छन्। त्यहाँ पुस्तकालयहरू कम छन्। भए पनि पुस्तकहरू पर्याप्त छैनन्। भएका किताबहरू पनि काम नलाग्ने छन्। ज्ञानको दायरा बढाउने खालका पुस्तकहरू पाउन गाह्रो छ।
जेलमा दुई थरी मानिसको मूल्य हुन्छ– धेरै पैसावाला र धेरै ‘पावर’वाला। यी दुवै नभएको राजनीतिक मान्छेलाई त झन् गाह्रो हुन्छ जुन मैले अनुभव गरेँ। एकातिर ‘यसका त गतिलो नेता पनि कोही रहेनछन्’ भनेर अपमान गर्छन्। अर्कोतिर पैसा नभएपछि अभावमा जिन्दगी बिताउनुपर्ने हुन्छ। त्यस्ता मान्छेहरूलाई आन्तरिक प्रशासनले पनि गन्दैन। शक्तिवाल, पैसावाल मन्त्रालयतिर ठूला–ठूला मान्छे भएकाहरूका सुविधा बेग्लै हुन्छ, हाउभाउ बेग्लै हुन्छ। कोही पनि नहुनेको अवस्था नाजुक हुन्छ।

त्यसैले त्यहाँ प्रत्यक्ष रूपमा वर्गहरू देखिन्छ– हुने वर्ग र नहुने वर्ग। ठगी, लागुऔषध र ठूला भ्रष्टाचारका काण्डमा परेका मान्छेहरू त्यहाँका मूल्यवानमा गनिन्छन्। जोसँग पैसा छैन, ऊ सधैँ हेपिएर बस्नुपर्छ। चल्तीको भाषामा ‘यो त झोले मान्छे रहेछ’ भनेर अपमान गर्छन्। जस्तो, भद्रका ११ सय मान्छेहरूमध्ये तीन–चार सय जनालाई बेग्लै सुविधा छ। बाँकीमध्येका कोही घरबाट पैसा ल्याउन सक्दैनन्। कसैको पहुँच हुँदैन। कसैको घर टाढा हुँदा भेट्ने मान्छे पनि आउन सक्दैनन्। त्यस्ता मान्छेले जेलमा धेरै दुःख पाउँछन्।
जेलभित्र लगानी पनि हुन्छ भन्छन्, कसले गर्छन् लगानी?
हो, जेलभित्र व्यवसायमा जसरी नै लगानी गर्नेहरू हुन्छन्। उनीहरूले भान्सा, होटल र अन्य विभिन्न ठाउँमा लगानी गर्छन्। त्यहाँ लगानी गर्ने भनेका पैसावाल र गुण्डाहरू हुन्छन्। त्यसबाहेकका धन हुनेले आफ्नो पैसा नाइके चौकीदारलाई दिएर आम्दानीको हिस्सासँगै सबैतिर नियन्त्रणमा लिएका हुन्छन्। प्रायः लगानी गर्ने मान्छे नाइके पनि बन्छन्, कर्मचारी पनि हुन्छन्। तर कोही गुण्डागर्दी पृष्ठमूमिका लगानीकर्ता हुन्छन्। उनीहरू स्टाफ भएर बस्दैनन्। ठूलो लगानी गर्नेहरूलाई नाइके बन्न गाह्रो पनि हुँदैन, आजको भोलि नै हुन्छन्।
उदाहरण थुप्रै छन्। भद्र बन्दीगृहमा मनराज गुरुङ दुई महिनामै नाइके बनेका हुन्। कानूनमा नाइके र चौकिदाहरूलाई मात्र बाहिर जाने व्यवस्था छ। तर त्यहाँ ‘आउटडोर’ भन्ने पद सिर्जना गरेका छन् जो कानूनमा छैन। उनीहरूलाई जेलर अफिससम्म पुग्ने अधिकार हुन्छ। कतिपय अवस्थामा प्रहरीको साथमा बाहिर घुम्न जाने पनि गर्छन् उनीहरू।
यो पनि : नाइके–चौकीदारले कमाउने अखडा बनिरहेका ठूला कारागार
काठमाडौँ घर भएकाहरू त कहिलेकाहीँ चाडपर्वमा घरमा समेत पुग्ने गरेका छन्। सामान्य बन्दीहरूले परिवारलाई फोन गर्न पनि चार–पाँच दिन कुर्नुपर्ने अवस्था छ। तर पहुँचवाला मान्छेहरूलाई जति पटक पनि फोन गर्ने अधिकार हुन्छ। उनीहरू बाहिरबाट सरसामान ल्याएर जेलभित्र बिक्री पनि गर्छन्। भित्रका उद्योग, कारखाना, होटल र पसलका प्रमुख नाइकेहरू हुन्छन्। त्यसबाट कमाइने कमिशनबाट उनीहरू बाँचेका हुन्छन्।
कुनै कैदीबन्दीले राम्रो व्यवसाय गरिरहेको छ भने त्यसको आम्दानी उसको हुँदैन, नाइके–चौकीदारको हुन्छ। त्यसबाहेक त्यहाँ खेलकुद, पानी, मेस लगायतका विभिन्न विभागहरू हुन्छन्। ती सबैका प्रमुख नाइकेहरू नै हुन्छन्। त्यहाँ आफैँले खाना बनाएर खान पनि मिल्छ। मेसमा पनि नखाने र आफैँले पनि नबनाउनेहरू होटलमा खान्छन्। जेलभित्रका हुनेखाने कैदीबन्दीहरू यो वर्गमा पर्छन्। होटल त्यहाँको एउटा ठूलो बिजनेस हो। धेरैजसो कैदीबन्दीहरू सार्वजनिक भान्सामा खान्छन्। कतिपयलाई दुःख दिने नियतले जबरजस्ती होटलमा खाना खुवाएर कुटपिट गरेका घटनाहरू पनि बाहिरिए। होटलको आम्दानी केमा खर्च गर्ने भन्ने निर्णय सबै नाइके र चौकीदारहरूकै हुन्छ।
त्योभन्दा ठूलो व्यापार किराना पसलको छ जुन प्रायः चौकीदारहरूको कब्जामा हुन्छ। जुनसुकै जेलका पसलमा पनि सामानको मूल्य बाहिरकोभन्दा निकै बढी हुन्छ। भद्र बन्दीगृहमा मूल्यसूची राखेको छ, तर त्यो देखाउन मात्रै राखेजस्तो छ। त्यहाँ हरेक सामान बजारको भन्दा दुई–तीन गुणासम्म बढी मूल्य तिरेर किन्नुपर्छ। त्यसरी गरेको आम्दानीबाट चौकीदारले पसलमा राखेका कर्मचारीको पारिश्रमिक दिएर बाँकी आफैँ राख्छन्।
होटल चाहिँ नाइकेको हुन्छ। त्यसमा राम्रै आम्दानी हुन्छ। जसले लगानी गर्यो त्यसले पैसा लिन्छ। त्यस्तोमा नाइकेहरूलाई कमिसन तोकिएको हुन्छ। सामान्यतया जेलमा ‘दाइ नाइके’, भाइ नाइके भन्ने चलन छ। त्यस्तै, चौकीदारलाई ‘ठूल्दाइ’ भन्ने चलन छ। ठूल्दाइलाई सबैले अनिवार्य नमस्कार गर्नैपर्छ। राजनीतिक पहुँच भएका गुण्डा नाइकेले भने गर्नुपर्दैन।

अर्को ‘बहिदार’ भन्ने पद हुन्छ जसले भएजति सबै कैदीबन्दीको रेकर्ड राख्नुपर्छ। सामान्य निवेदन लेख्ने काम पनि तिनले नै गर्छन्। बहिदारहरूको बढी ‘कनेक्सन’ हुने भनेको जेलरसित हो। किनकि कुन मुद्दामा के भयो भन्ने जानकारी सबै उनीहरूसँग हुन्छ।
तपाईंको खानपान र बसाइ कस्तो थियो?
म साथीहरूसँग मिलेर निजी भान्सामा खान्थेँ। भद्र बन्दीगृहमा के नियम छ भने सामान्यतया तीन महिना सार्वजनिक भान्सामा खानुपर्छ। त्यो हुनेखाने र पहुँच भएकाहरूका लागि होइन। मैले एक महिनाजति खाएँ। त्यसपछि आफ्नै बन्दोबस्तमा खान थालेको हुँ। हामी चार–पाँच जना मिलेर सँगै बनाएर खाने गथ्र्र्यौं। सार्वजनिक भान्सामा खाँदा चाहिँ आफूले केही पनि गर्नु पर्दैन। माछामासु खानुपर्यो भने त्यसको छुट्टै पैसा लाग्छ। खानामा दाल, अचार, तरकारी हुन्छ।
यो पनि : अस्पताललाई ‘थुनुवा कक्ष’ बनाउने छुट पाएका पहुँचवालाहरू, जोसामु निरीह छन् राज्य–संयन्त्र
निजी भान्सामा खानेका लागि महिनाको २१ किलो चामल र २४ सय नगद आउँछ। सार्वजनिक भान्सामा नाइके–चौकिदाहरूले कमाउने स्रोत यो पनि हो। भद्रमा प्राइभेट (आफैँ खाना बनाएर) खाने ३०० भन्दा धेरै होलान्। उनीहरू प्रायः सरकारले दिएको चामल खाँदैनन्। नाइके चौकिदाहरू कैदीबन्दीहरूलाई आएको सरकारी चामल आफू लिन्छन् र प्राइभेट खानेलाई अर्को चामल दिन्छन्।
हामी पनि सरकारले दिने दैनिक ७०० ग्राम चामल खाँदैनथ्यौँ। त्यसबापत हामीलाई नाइके–चौकीदारहरूले महिनाको ४०० रुपैयाँ नगद दिन्थे। तर त्यही चामल उनीहरू १२ सयमा बाहिर बिक्री गर्थे। हामीजस्ता प्राइभेट खाने त्यसबेला २५० जना जति थियौँ। ती सबैको चामलबाटै महिनाको प्रतिव्यक्ति ८०० रुपैयाँ नाइकेहरूले नाफा गर्थे। जेलभित्रकै आन्तरिक प्रशासनमा चामल नाइके हुन्छ, उसले यो काम मिलाउने गर्छ।
केन्द्रीय कारागार अन्तगर्तको जगन्नाथवेदलभित्र ३५ सयभन्दा धेरै कैदीबन्दीहरू बस्छन्। यो संख्या एउटा गाउँपालिकाको जनसंख्या बराबर नै हो। जेलभित्र यति धेरै कैदीबन्दीहरूले एक/एक कप चिया मात्र खाए पनि नाइके, चौकीदारहरूले लाखौँ कमाउँछन्। चिया बाहेकका अरू चिज बाहिरभन्दा कम्तीमा दोब्बर महँगो हुन्छ। उनीहरूले त्यहाँ जिम, कपडा पसल र होटल चलाएका छन्।
यसरी उठेको रकम कहाँ गइरहेको हुन्छ?
त्यो नाइके चौकीदारहरूले बाँडीचुडी खान्छन्। उस्तै जेलर पर्यो भने उसकहाँ पुग्छ, त्यस्तै डीजी (कारागार व्यवस्थापन विभागको महानिर्देशक) पर्यो भने उसकोमा पनि जान्छ। कारागारभित्र कार्यरत प्रहरीहरूलाई त पुग्ने नै भयो। यो ओपन सेक्रेटजस्तै छ। एक महिनामा भद्र बन्दीगृहमा प्रहरीले खाजा खाएको मात्र ९० हजारको बिल उठेको थियो। त्यो बिल चौकीदारले तिर्नुपर्छ। त्यहाँ एउटा सिन्डिकेट जस्तो हुन्छ। चौकीदार, जेलर र प्रहरीका डीएसपीलगायत जेल प्रशासनमा कार्यरत कर्मचारीहरूको मिलेमतो हुन्छ।
कैदीबन्दीबाट उठाएको पैसा कति प्रतिशत कसको भागमा जान्छ भन्ने कुरा पब्लिकलाई थाहा हुँदैन। तर खान्छन् भन्ने सबैलाई थाहा छ। नत्र नाइके चौकीदारहरूले चाहेर मात्र कैदीबन्दीहरूलाई यातना दिने, मिटरब्याज चलाउने र भान्सादेखि जिमहल, खेलकुद, होटललगायत विभन्न थरी व्यवसायबाट पैसा असुली गर्न सक्दैनन्। यसको हिसाबकिताब कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्म पुगेको हुन्छ। हिसाब गर्ने हो भने म बसेको भद्र बन्दीगृहमा महिनाकै सामान्यतया नाइके चौकीदारहरू २०/३० लाख कमाउँछन्।

त्यो रकमको ठूलो अंश चौकीदारहरूको हुन्छ। बाँकी उनीहरूले नाइकेदारी र चौकीदारीलाई जोगाउनका लागि जो जो मानिसहरू पालेका हुन्छन्, त्यहाँसम्म पुग्ने गर्छ। ती मान्छेहरू मन्त्रालयमा फोर्स लगाउनेहरू हुन्छन्। डीजी कार्यालयमा फोर्स लगाउनेहरू हुन्छन्। उनीहरूमा विभिन्न दलका मध्यम तहका नेताहरू पनि पर्छन्। नाइके–चौकीदारहरू नियुक्त गर्दा उनीहरूलाई नै पैसा बुझाउनुपर्छ। जस्तो एउटा चौकीदार नियुक्त गर्दा उसले न्यूनतम १०/१५ लाख जम्मा पारेको हुनुपर्छ। फेरि त्यसले महिनैपिच्छे जेलर र डीएसपीलाई जेलबाट हुने आम्दानी बापत बुझाउने शर्त त छ नै। यो ५०० भन्दा माथि कैदीबन्दी भएका जेलहरूको यथार्थ हो।
उनीहरूको ‘नेक्सस’ कतिसम्म हुन्छ?
नाइके चौकीदारहरूको राजनीतिक नेक्सस कतिसम्म हुन्छ भने कतिपय गृहमन्त्रीहरूलाई नै यो कुरा थाहा हुन्छ। थाहा हुने मन्त्रीहरूले यसको शेयर नै मागेका हुन्छन्। त्यो कुरा पहिलेका गृहमन्त्री खुमबहादुरजी (खुमबहादुर खड्का)लाई थाहा थियो भनेर धेरै साथीहरू भन्छन्। पछि बालकृष्ण खाणको कुरा पनि आयो। त्यो कुरा अभिषेक गिरीको घटनाले पनि देखाउँछ जसलाई तत्कालीन गृहमन्त्री खाणले दबाब दिएर गिरीकै रोजाइअनुसार विराटनगर कारागार सरुवा गराएका थिए। त्यसरी एउटा मन्त्रीले चौकीदारलाई चलाउँछ। ठूलो आर्थिक लेनदेन नभएको भए त्यस्तो सम्भव हुँदैन भन्ने कुरामा म विश्वस्त छु।
कस्ता किसिमका मान्छे नाइके–चौकीदार बन्दा रहेछन्?
जेलभित्र नाइके चौकीदारहरू चार–पाँच किसिमका हुन्छन्। एउटा राजनीतिक शक्ति भएको मान्छे हुन्छ, अर्को बिचौलिया हुन्छ, अर्को गुण्डा नाइकेहरू हुन्छन्। नाइके चौकीदार हुने योग्यता त्यसरी मापन गरिन्छ। जेलर, विभागका डीजी, सीडियोहरू औपचारिकता पूरा गर्न उनीहरूको योग्यता देखाउँछन्। त्यो मलाई एउटा कुनै नाटकजस्तो लाग्छ। मैले करिब नौ वर्षको अन्तरालमा कानूनसम्मत नियुक्त भएको कोहीलाई पनि भेट्टाइनँ। अर्को अनौठो कुरा के छ भने एउटै व्यक्ति कैयौँ पटक नाइके–चौकीदार बन्छ। अनि कोही मान्छे फेरिएको देखाउनका लागि मात्र पनि नाइके–चौकीदार हुन्छन्। तिनलाई चलाउने मान्छे अर्कै हुन्छ।
यो पनि : अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति
सामान्यतया भद्रलाई अरू बन्दीगृहभन्दा राम्रो भनेर बुझिन्छ। सरसफाइ र सिस्टमका हिसाबमा राम्रो मानिन्छ। राम्रो भनेकै यस्तो छ भने अरू कस्ता होलान्? कल्पना गर्न सकिन्छ? अर्को कुरा, सामान्य मान्छे १० वर्षसम्म जेल बसेर फर्किए भने नाइके र चौकीदारहरूको अत्याचार, शोषण र दमनको छाप लिएर फर्किन्छन्। उनीहरूलाई जेल भनेको यस्तै हुँदोरहेछ भन्ने लाग्छ। त्यहाँ आउटडोर, नाइके, सहनाइके हुन पनि उनीहरूले पैसा तिर्नुपर्ने अवस्था छ। यतिसम्म कि कारागारभित्र एउटा स्कुल छ। त्यहाँ शिक्षक हुन पनि पैसा तिर्नुपर्छ।
सुधार किन नभएको होला?
सरकारी संयन्त्रको चासो छैन। त्यसले गर्दा पनि नाइके–चौकीदारहरू असुली धन्दामा संलग्न छन् र सिंगो कारागारलाई नै असुली अखडा बनाएका छन्। पानी सरकारी हुन्छ, विद्युत सरकारी हुन्छ। त्यसकारण पनि उठाएको पैसा बचत भइरहेको हुन्छ। त्यहाँ अधिकांश चिजहरू बिजुलीमा पाक्छ। नाइके–चौकीदारहरू टेलिफोनबाट पैसा उठाउँछन्। विभिन्न नामधारी चाडवाडमा पनि उठाउँछन्। त्यो सबै रकम उनीहरूकै हुन्छ। चौकीदारको कोठामा उनीहरूको भित्री मान्छेबाहेक अरू कोही जान पाउँदैन। जेलर र डीएसपीलाई समेत त्यहाँ जान मनाही हुन्छ। कोठामा उनीहरूलाई टीभीको सुविधा हुन्छ, तातो–चिसो सबै गरिदिने मान्छेहरू राखेका हुन्छन्। बाहिरका गुण्डा नाइकेहरूले भित्र नाइके–चौकीदार बनाएका हुन्छन्। आन्तरिक प्रशासनलाई हातमा लिएर अवैध गतिविधिहरू गरिरहेका हुन्छन्। जति आयोग बने पनि सुधार भएको छैन।
यो पनि : साहुको ‘शासन’ले उठिबास लाग्दैगरेको ‘कमरेड गाउँ’
सुधारका लागि सुझाव माग्नेहरूसँग गरिएका कुराकानी सबै नाइके–चौकीदारसम्म पुगिसक्छ। एक पटक गृह मन्त्रालयले कारागारबारे बुझ्न बोलायो। मैले भित्र भइरहेको गतिविधिबारे बताएँ। पछि कारागारको नाइकेले फोन गरेर ‘दाइले यस्तो भन्नुभएछ नि’ भन्यो। सुरक्षा निकायका प्रमुख, मन्त्रीहरूसँग गरेको कुराकानी उनीहरूलाई थाहा हुन्छ। त्यस्तो नेक्ससमा हुन्छन् उनीहरू। सुधार गर्न नसकिने भन्ने होइन, गर्न सकिन्छ। तर पहिला नाइके–चौकीदारहरूले जुन शासन चलाइरहेका छन् त्यसलाई रोक्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
