पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिव नियुक्त गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिव नियुक्त गरेका छन्। पाण्डेयलाई राष्ट्रपति पौडेलले मंगलबार दिउँसो संघीय संसद्को महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसअघि संघीय संसद्का कार्यवाहक महासचिवसमेत रहेका पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए। त्यसलगत्तै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा मंगलबारदेखि लागू हुने गरी उनलाई राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिव पदमा नियुक्त गरेका हुन्। 

संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेयको नाम सिफारिस गरेका थिए। सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानूनी व्यवस्था छ। 

गत मंसिर २७ मा सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिव नियुक्ति गरेको थिए। कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई छ।