साफ यू१९ च्याम्पियनसिप : नेपाल लिग चरणबाटै बाहिरियो

भारतसँग ४–० गोल अन्तरले पराजित हुँदै नेपाल साफ यू१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ। 

तस्वीर : एन्फा

काठमाडौँ– नेपाल दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ। 

बांग्लादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्ताफा कमल रंगशालामा मंगलबार सम्पन्न खेलमा भारतसँग ४–० गोल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। 

फाइनल पुग्न जित्नै पर्ने खेलमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले शुरूआती ११ मा चार खेलाडी परिवर्तन गरेको थिए।

उनले कप्तान सारा बज्राचार्य, वर्षा ओली, दिव्या यस्माली मगर र सिम्रन राईको स्थानमा माया मास्के, रोजिता विष्ट, सुशीला केसी र पूर्णिमा राईलाई मैदान उतारेका थिए। 

तर, नेपालले खेलमा भारतलाई दबाब दिन सकेन। भारतका लागि नेहाले २ गोल गरिन्। सुलन्जना राहुल र सिन्डी कोल्नीको नाममा १/१ गोल रह्यो।

खेलको ५४औँ मिनेटमा शिवानी देवीले डीबक्स बाहिरबाट दिएको बलसामू नेपालकी गोलरक्षक लीला जैसी पुग्न सकेकी थिइन्। सोही बललाई नियन्त्रणमा लिँदै सिक्स यार्डबाट नेहाले गोलमा परिणत गरिन्। 

८०औँ मिनेटमा भारतले अग्रता दोब्बर बनायो। अरिणा देवीले दिएको बललाई नेहाले डीबक्स बाहिरबाट गरेको प्रहारलाई लीलाले बचाउन सकिनन्।

८६औँ मिनेटमा सुलन्जनाले भारतका लागि तेस्रो गोल गरिन्। अरिणाले दिएको एअर बललाई सुलन्जनाले हेडरमार्फत गोल गरेकी हुन्।

इन्जुरी समयमा नेहाले दिएको पासलाई गोल लाइन नजिकबाट सिन्डीले गोल गर्दै भारतलाई ४–० गोल अन्तरको सहज जित दिलाइन्।

भारतले उपाधिका लागि घरेलु टोली बांग्लादेशको सामना गर्नेछ।