ट्राफिक कारबाहीबाट ६ महिनामा ७९ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२  राजस्व संकलन भएको छ। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२  राजस्व संकलन भएको छ। ६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो।

उक्त राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेश प्रदेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ संकलन भएको हो।

यसैगरी ट्रक/ट्यांकरबाट १५ करोड १९ लाख ९५ हजार ४००, बस/मिनिबसबाट नौ करोड २० लाख ५००, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको हो।

मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन भंग गर्ने, क्षमताभन्दा बढी भार/यात्री राख्ने, जथाभाबी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम संकलन गरिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्यांकर एक लाख ७० हजार ८४२,  बस/मिनिबस एक लाख नौ हजार ३७७ वटा, कार/जिप/भ्यान दुई लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभई कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानूनी गतिविधि गर्नेहरूबाट पनि राजस्व संकलन गर्दै आएको छ।