रग्बी लिग फागुन पहिलो साता

सिंगल राउन्ड रोबिनमा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए।

काठमाडौँ– राष्ट्रिय रग्बी फिफ्टिन्स लिग फागुन पहिलो सातादेखि शुरू हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा हुने प्रतियोगिता फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको हो।

लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लब काठमाडौँको सहभागिता रहने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

सिंगल राउन्ड रोबिनमा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए।

पाँचौँ संस्करणको लिगको विजेतालाई उपाधिसँगै ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

संघले सहभागी सबै टोलीका लागि तयारी खर्च स्वरूप ५ लाख रुपैयाँ प्रदान गर्नेछ। लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ।

जसमा विभागीयबाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ। यसपटक गोर्खाली क्लबले पाँच जना खेलाडी राखेको छ।