लहानका रतन साहले फलाए रंगीन काउली

लहान नगरपालिका–२४ का रतन साहले भारतबाट बीउ ल्याएर बैजनी र पहेँलो रंगका काउली उत्पादन गरेका छन्। उक्त काउली प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ। 

सिरहा– लहान नगरपालिका–२४ का रतन साह विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ।

“सात वर्ष पहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ। स्वदेश फर्किएपछि  भारतबाट बीउ झिकाएँ। परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ। राम्रो उत्पादन भयो,” उनले भने, “बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु।”

एक किलोसम्मको काउली फलेको उनले सुनाए। “यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनासाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्छ,” साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु।” उक्त काउली अहिले प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए।

खेतमा रंगीन काउली अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको छ। “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ,” स्थानीय शिक्षक कुशेश्वर यादवले भने, “उहाँले धेरै राम्रो गर्नुभएको रहेछ।”