कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। दोस्रो पटक थपिएको सम्झौताको म्याद २०८१ साउनसम्म रहेको भए पनि काम सन्तोषजनक हुन सकेको छैन।
नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार शुरू भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले २०७५ माघमा २०७९ साउनमा सक्ने सम्झौता गरेको थियो।
कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले पहिलो पटक थप गरिएको समय २०८० भदौमा सकिएपछि दोस्रो पटक समय थप गरेर आयोजना पूरा गर्ने समय २०८१ साउनमा पुर्याइएको बताए। “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ,” उनले भने, “दोस्रो पटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।”
हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २०.३८ किलोमिटर मात्रै भएको छ। दुईतर्फी कालोपत्रको काम १३० किलोमिटर गर्नुपर्ने सम्झौता छ। “निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम गरेको छैन,” उनले भने, “निर्माण व्यवसायीले बनाएको योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ। निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन।”
सडक विस्तारका लागि चालकसहितका सबै कामदार गरी ६२६ जना मात्रै निर्माणमा संलग्न रहेको उनले बताए। “निर्माण व्यवसायीले एक हजार ५४१ कामदार आवश्यक पर्छ भनेर भनेको थियो। तर हामीले दुई हजार २०० मजदुर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौँ,” उनले भने, “आफैँले बनाएको कार्य योजनासमेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन।”
सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्र गर्ने उपकरण) दुईवटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्र गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) योजनाले २५ आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले निर्माण व्यवसायीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा सातवटा मात्रै ग्रेडरको प्रयोग भएको उनले बताए।
“कार्यतालिकाअनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौँ,” उनले भने, “निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य)मा ठेक्का सकारेका कारण उसले नगद प्रवाह गर्न नसक्दा भनेअनुसार काम गर्न सकेको छैन।” चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङका सहव्यवस्थापक राकेश झाले दोस्रो पटक थप भएको समयमा सडक विस्तारको काम नसकिने जानकारी दिँदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताए।
“सडक विस्तारको शुरूआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो। अहिले पनि मौसमका कारण सडकको काम तीव्र रूपमा गर्न सकिएको छैन,” उनले भने, “कावासोती, प्रगतिनगरलगायत ठाउँमा कालोपत्र गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्र गर्न सकिएको छैन।” ८ साउन २०८१ सालसम्म आयोजनाको करिब ७० प्रतिशत काम पूरा गर्नेगरी खटिएको उनको भनाइ छ।
“साउनसम्म हामीले गैँडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्नेगरी काम गरिरहेका छौँ,” उनले भने, “त्यसपछिको बाँकी काम ८१ चैतभित्र सकाउने हाम्रो योजना छ।” सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उनले साइड क्लियर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए।
“यो फेब्रुअरीसम्म सिजी, गैँडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ,” उनले भने, “विद्युत्को पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन्।”
आयोजनाअन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, सब वे (सवारीसाधन रोक्ने ठाउँ) बनाउने, कालोपत्र गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सब बेसको काम भइरहेको उनको भनाइ छ। नारायणगढबाट बुटवलसम्मको ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक रहेको छ। २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गरेको सडक करिब ५८ वर्षपछि एशियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ।
चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ। तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ। हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ। बजार क्षेत्रको १७. ६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ।
सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताए। यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन्। सडकका विभिन्न स्थानमा निर्माण हुने २१५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ ।
एशियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण शुरू भएको यस खण्डको कूल लागत नौ अर्ब ३८ करोड रहेकामा हालसम्म तीन अर्ब ७६ करोड ६६ लाख रुपैयाँ आर्थिक प्रगति भएको खनालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
